Techie IT

अछामको चौखुट्टेमा पहिरो, सडक अवरुद्ध


अछामको चौखुट्टे नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

साँफेबगर सिलगढी सडक खण्ड अन्र्तगत मार्कु र चौखुट्टेको बीच सिमानामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । आईतबार राति देखि आएको अविरल वर्षाले पहिरो खसे पछि सडक खण्ड बन्द भएको छ ।

हिजो धनगढी बाट आएका यात्रु बाहक बस, मालबाहक गाडी साना जिप बाटोमै रोकिएका यात्रु रोशन रावलले जानकारी दिनुभयो ।

यता मंगलसेन, जयगढ र साँफेबगर देखि गएका गाडी पनि बाटोमै रोकिएका छन् । सडक नखुल्दा समयमै गन्तव्यमा पुग्न कठिनाई भएको छ भने निरन्तरको वर्षाले यात्रुहरुलाई असहज भएको छ ।

त्यस क्षेत्रमा यसअघि पनि पटक पटक पहिरोले सडक अवरुद्ध हुँदै आएको थियो । वर्षा नभए पनि सुख्खा पहिरो खस्न भएकाले सडक अवरुद्ध हुँदै आइरहेको थियो । अल्पकालीन रूपमा बाटो खुलाउने काम भइरहे पनि दीर्घकालीन समाधान हुन सकेको छैन ।

सडक खुलाउन सडक डिभिजन कार्यालय सँग कुरा गरेर जेसिवि पठाई सकेको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताउनुभयो । वर्षाका कारण खुलाउन असहज भइरहेको उहाँको भनाइ छ ।

बुधबार पछि पानी रोकिएमा दीर्घकालीन समाधान का लागि पहल गरिने उहाँले बताउनुभयो । उता अल्पकालीन रूपमा सडक खुलाउन आएको जेसिबीको टायर पन्चर हुँदा झन् ढिलाइ भएको छ ।

पन्चर बनाउन टायर साँफेबगर पठाएको र उक्त टायर आएपछि सडक खुलाउन सुरु गरिने बताइएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


प्रतिक्रिया दिनुहोस