Techie IT

मेल्लेख गाउँपालिका : सहजै सेनेटरी प्याड पाउँदा विद्यालय जाने छात्राको सङ्ख्या बढ्दै


अछामका किशोरीहरू स्वास्थ्य प्रति सचेत बन्दै गएका छन् । बिभिन्न सङ्घ संस्थाको निरन्तरको प्रयास र जनचेतना विस्तार भएसँगै उनीहरू आफ्नो स्वास्थ्य प्रति सचेत बन्दै गएका हुन् ।

अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ की सलिना विक पहिले पहिले महिनावारी हुँदा स्कुल जानुहुन्थेन ।

स्कुल जाँदा देवता रिसाउने र पढ्न नहुने जस्ता भ्रममा उहाँ हुनुहुन्थ्यो तर अहिले सलिना मा त्यो भ्रम हटेको छ ।

महिनावारी हुँदा आफ्नो स्वास्थ्यमा ध्यान दिएका छन् भने मर्यादित महिनावारीका बारेमा जानकार छन्, सलिना । अहिले उहाँ मात्रै होइन उनका बहिनी दिदी र अन्य सबै किशोरी स्कुल जान्छन् ।

आवाज : सलिना

महिनावारी भएको समयमा विद्यालय जान नमान्ने छात्राहरू अहिले विद्यालय जान थालेका छन् । विद्यालयमै सेनेटरी प्याड पाउन थालेपछि अछामका किशोरी छात्राहरू नियमित रुपमा विद्यालय जान थालेका हुन् ।

जिल्लामा कार्यरत बिभिन्न गैर सरकारी संस्थाको पहलमा पछिल्लो समय विद्यालयमै स्यानटरी प्याड वितरण हुन थालेको छ । जसको प्रभावका कारण पनि महिनावारी भएका बेला किशोरीहरू खुलेरै स्कुल जान थालेका हुन् ।

पछिल्लो समयमा किशोरीहरूका लागि बिभिन्न सङ्घ संस्थाले र स्थानीय सरकारले निः शुल्क रुपमा प्याड उपलब्ध गराउन थालेसँगै किशोरीहरू महिनावारी हुँदा सेनेटरी प्याड प्रयोग गर्न थालेका हुन् ।

वाक नेपालको पावर परियोजना मार्फत अहिले अछाम जिल्लाका बिभिन्न पालिकाका विद्यालयमा किशोरी लक्षित सरसफाइका सामग्री निः शुल्क वितरण भइरहेका छन् ।

जस अनुसार जिल्लाको मेल्लेख गाउँपालिकाका बिभिन्न विद्यालयमा किशोरीलाई नि: शुल्क सेनेटरी प्याड वितरण भइरहेको छ । वाक नेपालमा कार्यरत बालिका कुँवरका अनुसार मेल्लेख गाउँपालिकाका किशोरी तथा महिलाहरू आफ्नो स्वास्थ्यप्रति सचेत बनेका छन् ।

आमा समूह, महिला सञ्जाल बाल क्लब र विद्यालयमा बिभिन्न जनचेतनाका कार्यक्रम गर्न थालेसँगै उनीहरू आफ्नो स्वास्थ्यप्रति सचेत बनेको उहाँले बताउनुभयो । किशोरीहरू आफ्नो स्वास्थ्य प्रति मात्रै नभएर समाज परिवर्तनमा पनि सक्रिय बनेका छन् ।

मेल्लेख गाउँपालिकाका केही किशोरीहरू अहिले आत्मरक्षाका तालिम र समाज रूपान्तरण सम्बन्धी जनचेतना मूलक कार्यक्रममा सक्रिय भएका छन् ।

उनीहरू आफ्नो लागी आफै सेनेटरी प्याड बनाउन सक्ने भएका छन् । जिल्लाका अझै दुर्गम बस्तीहरूमा अहिले पनि महिनावारी भएको समयमा छाउगोठमा बस्ने ७ दिन पूरा नभएसम्म विद्यालय नजाने प्रचलन कायमै छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

उपाध्याय रेडियो बान्नीगढीको समाचारबाचक तथा संवाददाता हुन् । उनले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस