Techie IT

भीम रावल ओलीको शरणमा परे ‘पार्टीमा आए स्वागत गरिन्छ’ : केन्द्रीय सदस्य कुँवर

नेकपा एसको प्रथम गाउँपालिका भेला जयगढमा सम्पन्न


नेकपा एकीकृत समाजवादी पार्टीको प्रथम गाउँपालिका भेला बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ ।

नेकपा एसका बान्नीगढी गाउँपालिका अध्यक्ष तरुण खड्काको अध्यक्षता सम्पन्न भएको भेलामा प्रमुख अतिथि नेकपा समाजवादीका प्रदेश उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य शेर बहादुर कुँवर रहनुभएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले नेकपा एमाले पार्टी भित्र नेता र नेतृत्व बिचको अन्तर विरोध रहँदै आएकोमा केपी ओलीको व्यक्तिवादी चरित्रका कारण आफूहरू विद्रोह गर्न बाध्य भएको बताउनुभयो । उहाँले विचार र व्यक्तिवादको अन्त्य गर्दै नयाँ पार्टी र विचारका साथ जनताको माझमा आएको बताउनुभएको छ ।

उहाँले पार्टी नेतृत्वको वैचारिक शून्यताले पार्टी विभाजन भएको उल्लेख गर्नुभयो । नेकपा एमालेमा ओली स्वेच्छाचारी बन्दै गएर एकलौटी पार्टी कब्जा गर्न खोज्दा आफूले नयाँ पार्टी रोजेर जनताको कदर र देशको संविधानको रक्षा गरेको धारण व्यक्त गर्नुभयो ।

ओलीले संसद् विघटन गर्दा एमाले नेता कार्यकर्ताहरूले विद्रोह गरेर ओलीको दबाबबाट मुक्त भएको र अब नेकपा समाजवादी पार्टीले देश र जनताका चाहना अनुसार काम गर्ने उहाँले बताउनुभयो ।

उहाँले आफ्नै सहकर्मी भीम रावल पनि पार्टी भित्र सङ्घर्षका नाममा ओलीको सरणमा परेको आरोप लगाउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि नेकपा समाजवादीका अछाम जिल्ला इन्चार्ज तथा साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले कार्यक्रममा बोल्दै नेकपा एमालेमा भएको चरम भ्रष्टाचार, व्यक्तिवादको विरुद्ध लागेर नयाँ पार्टी र विचार बोकेर जनताको माझमा आएको बताउनु भयो ।

विगतमा पनि धेरै पार्टीले विद्रोह गरेर नै देशमा पार्टीको विकास क्रम भएको बताउनुभएको थियो । आफ्नो पार्टीमा अछाममा पनि तत्कालका लागि थोरै सदस्य भए पनि केही समयमै पार्टीलाई अछामकै पहिलो शक्ति साबित गर्ने दाबी गर्नुभयो ।

उहाँले अबको निर्वाचनमा अछामका सबै पालिकामा जित्नेगरि सङ्गठन निर्माण गर्न लागि परेको बताउनुभयो ।

यस्तै अर्का विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री तथा नेकपा एसका अछाम जिल्ला सह इन्चार्ज मना कुमारी साउँदले अहिले गाउँघरमा पार्टी प्रति आस्था राख्ने कार्यकर्ता थोरै भए पनि आफूले गरेको काम र सङ्गठन विस्तारले नेकपा एस प्रति आकर्षण बढ्ने बताउनुभयो ।

नेकपा एमालेमा व्यक्तिवाद र एकलौटी निर्णय र केपी वलीको तानासाही प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्दै अछामी जनताको साथमा नयाँ पार्टी र बिचारका साथ आएको बताउनुभयो । उहाँले विगतमा पनि आफू जनताका समस्या समाधान गर्न सक्रिय रहेको बताउँदै अछामी जनताका समस्या समाधान गर्न लागि पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले जयगढको खानेपानीको समस्या समाधान, जयगढ – रामारोशन सडक खण्डका लागि थप बजेट विनियोजन गर्न पहल गर्ने दाबी गर्नुभएको छ ।

कार्यक्रममा बोल्ने नेता कार्यकर्ताहरूले एमाले नेता भीम रावलले आफलाइ धोका दिएको आरोप लगाएका थिए । उनीहरूले केपी वलीले दुई दुई पटक संसद् विघटन गर्दा गाउँका सोझा जनतालाई आन्दोलन गर्न र विरोध गर्न निर्देशन दिएको तर आफू केपी वलीको सरणमा परेको बताए ।

कार्यक्रममा अन्य अतिथिहरू केन्द्रीय अनुशासन आयोग सदस्य कम्मान सिंह खड्का, सल्लाहकार सदस्य अमृता खड्का, नेकपा एसका जिल्ला अध्यक्ष हिरण्ड भट्टराई, प्रदेश कमिटी सदस्य शिलोज कुँवर, साँफेबगर नगरपालिका उपप्रमुख तथा नेकपा एसका जिल्ला कमिटी उपाध्यक्ष विर्मला देवी बुढ्थापा लगायतका नेता कार्यकर्ताले बोलेका थिए ।

पालिका सह इन्चार्ज मोहनलाल ताम्राकारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य तिलक ठकुल्लाले गर्नुभएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस