Techie IT

विधि विधानको खिल्ली उडाउदै सरस्वती मावि. : शिक्षक बनाए बापत ४५ हजार असुली


बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा रहेको सरस्वती माद्यामिक विद्यालयमा शिक्षक नियुक्त गरे बापत रकम असुलेको तथ्य बाहिरिएको छ ।

बिद्यालयको आई.एस.सी. एजी. विषयको शिक्षक नियुत्ती गरे बापत ४५ हजार रकम असुलेको तथ्य खुलेको हो ।

शिक्षक पदपूर्तिका लागी परीक्षामा सहभागी भएका शिक्षकबाट ४५ हजार रकम असुलेर नियुक्ति दिएको सर्वत्र चर्चा जयगढ क्षेत्रमा छ ।

शिक्षक नियुक्तिका लागी सबै प्रक्रिया पुरा गरेपछि नियुत्ती दिनु अघि ४५ हजारको पेस्की भर्पाईमा हस्ताक्षर गर्न लगाएर आफूलाई रकम नदिई ४५ हजार असुलेको बिषयमा नव नियुक्त शिक्षक कृष्ण बहादुर खड्काले विद्यालयका अन्य शिक्षक सामु गुनासो पोखेपछि यो तथ्य बाहिरिएको हो ।

शिक्षक छनोटका लागी परीक्षामा सम्मिलित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , प्रधानाध्यापक, बिषयबिज्ञ, बान्नीगढी जयगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत , शिक्षा शाखाका प्राविधिक सहायक र गाउँ शिक्षा समितिका सदस्यले नव नियुक्त शिक्षकबाट ४५ हजार रुपैयाँ हजम गरेका हुन् ।

नव नियुक्त शिक्षक खड्काबाट ४५ हजार रकम असुल्नुमा बान्नीगढी जयगढ गाउँपालिकाका शिक्षा समिति सदस्य प्रकाश ताम्राकारको सबै भन्दा बढी भूमिका रहेको विद्यालय निकट स्रोतको दाबी छ ।

स्रोतका अनुसार केहि महिना अघि एमालेबाट कांग्रेस प्रवेश गरेका ताम्राकारले गाउँपालिका अध्यक्ष राजेन्द्र खड्काको निकटताका कारण विद्यालयमा समेत हस्तक्षेप गर्न थालेको छन् ।

आई.एस.सी.एजी. शिक्षक आवश्यकता सम्बन्धी बिद्यालयको मिति २०७८ मङ्सिर २२ को सूचना अनुसार दरखास्त पेस गरेका चौरपाटी गाउँपालिका वडा नम्बर ५ का कृष्ण बहादुर खड्का पौष १७ गतेको लिखित र मौखिक परीक्षामा उत्तीर्ण भएका थिए ।

शिक्षक नियुक्तिका लागी सबै चरण ( लिखित तथा अन्तर्वार्ता परीक्षा )पार गरिसकेका खड्काबाट परीक्षा ४५ हजार रकम असुलिएको विद्यालयका प्रधानाध्यापक टेक बहादुर कुँवरले घुमाउरो पारामा स्विकारेका छन् ।

उनले परीक्षा सञ्चालन खर्च बापत नव नियुक्त शिक्षक खड्काबाट ४५ हजार असुलेको बताएका छन् ।

प्रधानाध्यापक कुँवरका अनुसार परीक्षा समितिका अध्यक्ष कृष्ण बहादुर खड्का,विषय विज्ञ भरत रावल,आशिष् कुँवर,गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशी,प्राविधिक सहायक वसन्तराज जोशी, बान्नीगढी जयगढ गाउँपालिकाका शिक्षा समिति सदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाश ताम्राकार र स्वयम प्रधानाध्यापक कुँवर लगायतले मिलेर बाँडीचुडि लिएका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले भने आफूहरूले परीक्षा सञ्चालन गरे बापत भत्ता बुझी लिएको दाबी गरेका छन् । नियुक्ति दिए बापत शिक्षकबाट रकम असुलेकोबारे भने आफूलाई कुनै पनि जानकारी नभएको जोशीको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत जोशीका अनुसार विषय विज्ञ,परीक्षा सञ्चालनमा संलग्न समितिका ५ जना सदस्यले नियमानुसार नै भत्ता लिन पाउने व्यवस्था रहेको छ ।

तर आवश्यकता भन्दा बढी व्यक्तिलाई संलग्न गरि भत्ता दिनु उचित नहुने उहाँको भनाई छ ।

परीक्षा सञ्चालनका लागी विद्यालयले आर्थिक व्यवस्थापन गर्नुपर्नेमा सफल उम्मेद्वारबाट रकम अशुल्नु नियम विपरीत हुने स्वयम जोशी बताउनुहुन्छ ।

नयाँ नियुक्त हुने शिक्षकबाट पैसा उठाउने चलन पुरानै हो : प्र.अ कुँवर

सरस्वती माद्यामिक विद्यालयमा नव नियुक्त शिक्षकबाट रकम असुलेको बिषयमा बुझ्न खोज्दा लहरो तान्दा पहरो जस्तै भएको छ ।

विद्यालयका प्रधानाध्यापक टेक बहादुर कुँवरले नयाँ नियुक्त हुने शिक्षकबाट रकम असुल्नु कुनै नौलो कुरा नभएको प्रतिक्रिया दिएका छन् । कुँवरका अनुसार सरस्वती माद्यामिक विद्यालयमा यस अघि नियुक्त गरिएका शिक्षकहरूबाट पनि रकम असुलिएको थियो ।

परीक्षा सञ्चालन खर्च बापत सफल उम्मेद्वारबाट रकम उठाउने गरिएको दाबी गर्ने प्रधानाध्यापक कुँवरले यस अघि विद्यालयमा माद्यामिक तह र प्लस टु तहमा शिक्षक नियुक्त गर्दा समेत रकम असुलेको स्वयम खुलासा गरेका छन् ।

उनका अनुसार यस अघि प्लस टु तहमा नियुक्त भएका शिक्षक मोहन के.सी र माद्यामिक तहमा नियुक्त भएका रमेश बुढाबाट समेत परीक्षा सञ्चालन खर्च बापत ३०/४० हजार रकम असुलिएको थियो ।

माद्यामिक बिद्यालयको शिक्षक बुढाको नियुक्तिका क्रममा ७० हजार र प्लस टु तहका शिक्षक मोहन के.सी बाट ६० हजार बढी असुलिएको विद्यालय निकट स्रोतको दाबी छ ।

शक्तिको आडमा नियम विपरीत शिक्षक नियुत्ती गराउदै शिक्षा समिति सदस्य ताम्राकार :

सत्ता र शक्तिको दुरुपयोग कसरी गरिन्छ भन्ने निकृष्ट उदाहरण सरस्वती माद्यामिक विद्यालयमा देखा परेको छ । कुनै पनि विज्ञापन बिना नै सरस्वती माद्यामिक विद्यालयमा सहायक शिक्षक नियुक्त गरिएको तथ्य समेत बाहिरिएको छ ।

नेकपा एमालेबाट नेपाली कांग्रेस प्रवेश गरी बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको निकट भई गाउँ शिक्षा समिति सदस्य बनेका प्रकाश ताम्राकार गाउँ शिक्षा समितिको सिफारिसमा सरस्वती माद्यामिक बिद्यालयको विद्यालय व्यवस्थापन समिति सदस्य समेत बनेका छन् ।

यिनै ताम्राकारको दबाबमा सरस्वती माद्यामिक विद्यालयमा कुनै पनि विज्ञापन नगरी सोझै सहयोगी शिक्षक नियुक्त गरिएको छ ।

आफ्नी भतिजी नाता पर्ने विद्या ताम्राकारलाई कुनै पनि विज्ञापन तथा परीक्षा सञ्चालन नगरी सोझै विद्यालय व्यवस्थापन समितिको बैठक मार्फत सहयोगी शिक्षकका रुपमा नियुक्त गर्ने निर्णय प्रकाश ताम्राकारले गराएको अधिकांशको बुझाई छ ।

विद्यालय व्यवस्थापनको समितिको २०७८ पौष २३ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय नम्बर १ को निर्णय हेर्दा निर्णय १ को क मा भने लिखित तथा मौखिक परीक्षा मार्फत सफल बनेका उम्मेद्वार कृष्ण खड्कालाई पौष २० गते देखी लागु हुने गरि शिक्षक नियुक्त गर्ने निर्णय गरिएको छ ।

खड्कालाई शिक्षक नियुक्त गर्न विज्ञापन प्रकाशित गरि लिखित र अन्तर्वार्ता परीक्षा समेत सञ्चालन गरि छनोट थियो ।

तर निर्णय नम्बर १ को ख निर्णयमा भने कुनै पनि विज्ञापन नगरी विद्या ताम्राकारलाई २२ हजार ५ सय पारिश्रमिक दिने गरि करार नियुक्ति दिने निर्णय गरिएको छ । पौष २३ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकको उपस्थिति हेर्दा प्रकाश ताम्राकार समेत बैठकमा उपस्थित देखिन्छन् ।

पौष २३ गतेको विद्यालय व्यवस्थापन समिति बैठकको निर्णय

स्रोतका अनुसार गाउँ शिक्षा समिति सदस्य समेत रहेका र गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काका निकट रहेका प्रकाश ताम्राकारले विद्या ताम्राकारलाई सोझै नियुक्ति दिने गरि गाउँपालिकाबाट विद्यालयलाई १० लाख अनुदान यस वर्ष हाल्न लगाएका छन् ।

गाउँपालिका अध्यक्ष खड्कालाई ताम्राकारको सबै परिवार कांग्रेस प्रवेश गराउने विश्वास दिलाएका कारण प्रक्रिया बिना विद्या ताम्राकारलाई शिक्षक नियुक्त गर्ने बिषयमा गाउँपालिका अध्यक्ष राजेन्द्र खड्काको समेत समर्थन रहेको चर्चा छ ।

गाउँ शिक्षा समिति सदस्य,विद्यालय व्यवस्थापन समिति सदस्य समेत रहेका प्रकाश ताम्राकारलाई हाल अधिकांशले बान्नीगढी गाउँपालिका अध्यक्षका अघोषित सल्लाहकारका रुपमा समेत बुझ्ने गरेका छन् ।

यस अघि दलित सामुदायिक भवन निर्माणका क्रममा गुणस्तरहीन काम गरेको बिषयमा समेत ताम्राकारको आलोचना भएको थियो ।

नोट : यो समाचारसँग सम्बन्धित अडियो प्रमाणहरू रेडियो बान्नीगढीसंग सुरक्षित छन् । 

 

 

२० लाखको दलित सामुदायिक भवन : झ्याल न ढोका,भत्कियो भर्याङ्ग  


क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस