Techie IT

कैलालीको भजनीमा एक सातादेखि पढाइ प्रभावित


कैलालीको भजनी नगरपालिकाका विद्यालयमा एक सातादेखि पढाइ प्रभावित भएको छ ।

गत शनिबार आएको बाढीले विद्यालय डुबाउनुका साथै क्षतिसमेत गरेपछि पठनपाठन प्रभावित भएको हो ।

डुबान र बाढी प्रभावित बसेका कारण भजनी नगरपालिकाका ८० प्रतिशत विद्यालयमा पठनपाठन प्रभावित भएको शिक्षा शाखाका अधिकृत पङ्खबहादुर शाहले बताए ।

“विद्यालय बन्द छैनन् तर एक सातादेखि पठनपाठन हुन सकेको छैन,” उनले भने, “विद्यार्थी, शिक्षक आउने र विद्यालयमा सरसफाइ गर्ने कार्य भइरहेको छ ।”

बाढीले भजनी नगरपालिकाका ८० प्रतिशत विद्यालय डुबानमा परेका थिए। सो पालिकामा संस्थागत ३९ र निजी १५ गरेर ५४ वटा विद्यालय रहेका छन् ।

बाढीले गणेशमान माध्यमिक विद्यालय, कर्मेश्वर आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, कृष्णध्वज माध्यमिक विद्यालय, जनजागृति माध्यमिक विद्यालय लगायतमा क्षति गरेको छ ।

विद्यालयमा रहेका विद्यार्थी–शिक्षक पुस्तिका, शैक्षिक कागजात, शैक्षिक सामग्री, दराज, विद्युतीय उपकरण, कम्प्युटर लगायतमा क्षति भएको नगरपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।

विद्यालयमा बाढीले गरेको क्षतिको विवरण अझै पूर्णरूपमा नआएको र सबै विद्यालयका प्रअलाई क्षतिको पूर्ण विवरण लिएर नगरपालिका आउन बोलाएको अधिकृत शाहले बताए ।

धेरैजसो विद्यालयमा बाढीले फोहोर र माटो थुपारेको छ। पठनपाठन पुनः सञ्चालनका लागि विद्यालयका कक्षाकोठालगायत सरसफाइ गर्ने कार्य भइरहेको जनाइएको छ ।


क्याटेगोरी : मुख्य समाचार, शिक्षा, समाचार

साउँद रेडियो बान्नीगढी तथा बान्नीगढी टुडेको संवाददाता हुन् । उनले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!