Techie IT

शिक्षा क्षेत्र सुधारका लागी बान्नीगढीमा विद्यालय अनुगमन र सुपरिवेक्षणमा जोड


बान्नीगढी जयगढ गाउँपालिकामा शिक्षा क्षेत्रको सुधारका लागी विद्यालय अनुगमन तथा सुपरिवेक्षण सुरु गरिएको छ ।

पालिकाका सामुदायिक,संस्थागत विद्यालय र बाल विकास केन्द्रको भौतिक,शैक्षिक,प्रशासनिक,आर्थिक अवस्था,आवश्यकता र व्यवस्थापनका बिषयमा जानकारी लिन गाउँपालिकाले अनुगमन तथा सुपरिवेक्षण सुरु गरेको हो ।

यसै बिच बिहीबार गाउँपालिकाका वडा नम्बर १,२ र ३ का बिभिन्न सामुदायिक विद्यालय तथा बाल विकास केन्द्रको अनुगमन तथा सुपरिवेक्षण गरिएको छ ।

गाउँपालिकाको अग्रणी विद्यालय सरस्वती माद्यामिक विद्यालय जयगढमा शैक्षिक,भौतिक र प्रशासनिक र आर्थिक बिषयमा अनुगमन तथा सुपरिवेक्षण गरिएको छ ।

अनुगमनका क्रममा विद्यालयमा विद्यार्थीको नियमिततामा कमी,कक्षाकोठाको सजावट र व्यवस्थापनमा कमजोरी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ र स्टाफ बैठक नियमित हुन नसकेको र अभिलेखीकरणमा कमजोरी भेटिएको छ ।

यस्तै विद्यालयमा भएको उपकरणको भरपुर प्रयोग तथा सदुपयोग हुन नसक्नुका साथै शौचालय सरसफाइमा समेत कमी देखीएको अनुगमन समितिले औँल्याएको छ ।

यस्तै वडा नम्बर १ गाँज्रामा रहेको राष्ट्रभाषा माद्यामिक विद्यालयमा अनुगमन तथा सुपरिवेक्षण गर्दा प्रशंसनीय रुपमा विद्यालयसँग उपलब्ध स्रोत र साधनको प्रयोग गरेको पाइएको छ ।

विद्यालयमा शिक्षकको जिम्मेवारी बाँडफाँड,विद्यालयसँग सम्बन्धी सबै विषयवस्तुको उचित रुपमा अभिलेखीकरण,विद्यालय सरसफाइ,शौचालय सर सफाइसँगै शैक्षिक सामाग्रीको उचित व्यवस्थापन गरिएको पाइएको अनुगमन समितिले औँल्याएको छ ।

यस्तै त्रिपुरा आधारभूत विद्यालयमा अनुगमन गर्दा बिद्यालयको समग्र शैक्षिक अवस्था सन्तोषजनक रहेको पाइएको छ भने विद्यालयमा शौचालय जीर्ण रहेको र घेरापर्खालको अभाव देखीएको छ ।

उता वडा नम्बर २ जनालीकोटको अरुणोदय आधारभूत विद्यालयमा अनुगमन गर्दा विद्यालयमा गम्भीर लापरबाही गरेको पाइएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकामा शिक्षा क्षेत्रको सुधार र व्यवस्थापनका लागी विद्यालय अनुगमनमा जोड दिइएको बताउँदै गाउँपालिका अध्यक्ष साउँदले बिद्यालयको भौतिक,शैक्षिक,प्रशासनिक,आर्थिक अवस्था,आवश्यकताबारे जानकारी लिई उचित व्यवस्थापनका लागी पहल गर्न अनुगमनमा जोड दिइएको बताएका छन् ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको नेतृत्वको अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष बिन्दु रावल,वडा अध्यक्ष नवराज साउँद,शिक्षा समिति सदस्य चन्द्र सिंह लुहार,हिक्मत थापा,शिक्षा शाखा प्रमुख वसन्तराज जोशी,दिवा खाजा कार्यक्रमका गाउँपालिका सुपरभाइजर राजेन्द्र बहादुर खड्का रेडियो बाान्नीगढीका कार्यकारी निर्देशक धनराज साउँद लगायत सहभागी भएका थिए ।


क्याटेगोरी : मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!