बजेट जति सडकमा, गाडी गुड्न मुस्किल

मेनुका ढुंगाना
अछाम —
जिल्लाका दशवटै स्थानीय तहले सबैभन्दा बढी लगानी सडक निर्माणमै गरिरहेका छन् । सबै स्थानीय तहको पहिलो प्राथमिकता वडामा मात्रै होइन टोल–टोलमा सडक पुर्याउने रह्यो । स्थानीय तहको २ वर्षको अवधि सडकको ट्र्याक खोल्ने होडबाजीमै बित्यो ।
जताततै सडक बने तर बनेका सडकमा बर्खा आरम्भअघि पनि गाडी गुड्दैनन् । सडक निर्माण खर्च भएजति अब फेरि वर्षा र पहिरोले अवरुद्ध सडक सुधारमा लगानी गर्नुपर्ने देखिएको छ ।
खेतीयोग्य जमिनसमेत मासेर सडक खन्न थालेको भन्दै स्थानीयले अवरोध गर्दा पनि डोजर लगाउने क्रम रोकिएन । तर कतिपय ग्रामीण सडकमा गाडी भने कहिल्यै चल्दैनन् । बिरामी भएको बेला बोकेरै अस्पताल पुर्याउनुपर्ने बाध्यता रहेको रामारोशन गाउँपालिका ६, भाटाकाटियाकी बिनिता साउँदले बताइन् ।
‘खेतीयोग्य जमिन काटेर रोड बनाए । अहिले ति रोडमा न त गाडी चल्छन् । न त मोटरसाइकल नै,’ उनले भनिन्, ‘वर्षामा सडक सबै पहिरोले बगाएर लैजान्छ । सडक बन्यो भन्छन् गाडी चल्दैनन् हामीलाइ केहि फाइदा भएन ।’ उनका अनुसार सुतार, बाटुलासैनमा पनि सडक पुगेका छन् तर गाडी चल्दैनन् ।
‘सडक बनाउने भनेर आफ्नो नजिकका मान्छेको फाइदाका लागि गाउँका सोझासाझा जनताको जग्गा मिच्ने, जंगल फाँड्ने प्रवृत्ति बढेको छ । अहिले त पानीका मुहानलाई असर पार्यो । बाढी पहिरोको डर उस्तै छ,’ भाटाकाटियाका एकिन्द्र साउँदले भने, ‘बाँकी जग्गा केहि सडकले लग्यो । केहि पहिराले बगायो । सडक होइन कि अहिले अधिकांश खोला बनिसकेका छन् ।’
गाउँका अगुवाले आफु खुसी सडक निर्माण गर्ने गरेको उनको भनाइ छ । ‘भाटाकाटियामा २ सडक छन् । एउटा गाउँमा पुगिसक्यो । अर्को पुग्न बाँकी छ । तर स्थानीयलाई कुनै फाइदा छैन,’ उनले भने । डोजर प्रयोग गरी निर्माण गरिएका सडकमा पहिरो जाने र अन्धाधुन्ध निर्माण गरीएकाले गाडि नचल्ने गरेको स्थानीयको गुनासो छ
। असारबाट गाडी चल्न बन्द हुने ग्रामीण सडक असोजपछि मात्रै सञ्चालनमा आउँदा बिरामी, बालबालिका र वृद्धवृद्धालाई असजिलो हुने स्थानीयको गुनासो छ । ‘राम्रो उपचारका लागि बयालपाटा अस्पताल आउनुपर्छ । त्यहाँ पुग्न एक दिन पुरै लाग्छ,’ भाटाकाटियाकी भूमिका साउँदले भनिन्, ‘अफ्ठ्यारो अवस्थाका बिरामीको त ज्यानै जोखिममा हुन्छ ।’
ज्यानमारा सडक
गाडी चल्ने अछामका ग्रामीण सडकहरू पनि असुरक्षित देखिन्छन् । प्रहरीका अनुसार ३ महिनाको अवधिमा ग्रामीण सडक भएका विभिन्न दुर्घटनामा ८ जनाको मृत्यु भइसकेको छ ।
प्रहरीका अनुसार असारमा चौरपाटी गाउँपालिका २ सोकटाको कोलगैरामा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो । ४ घाइते भए । बान्नीगढी जयगढ गाउँपालिका ५ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो भने चालकसहित दुई घाइते भएका थिए ।
यसैगरी रामारोशनबाट जयगढ जाँदै गरेको से.१ज ९९५ नम्बरको जिप सुकीबाग नजिक सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको थियो । मेल्लेख गाउँपालिका ७ नन्देगडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भयो । साँफेवगरबाट कुस्कोटका लागि छुटेको यात्रुवाहक जिप नन्देगडा बजारनजिकै दुर्घटना भएको हो ।
विस्तृत प्राविधिक अध्ययनबिनै बनेका सडकले विकासभन्दा बढी विनाश निम्त्याएको स्थानीयको बुझाइ छ । स्थानीय तहले कहाँ सडक बनाउने, कहाँ कुन साधनको प्रयोग गर्ने भन्ने मापदण्ड बनाएको छैन । अझ कतिपय सडक त प्राविधिकहरूले अध्ययन नगरी
खनिएका छन् ।
‘थुप्रै सडक विनामापदण्ड खनिएका छन् । सडकमा मनपरि छ, जथाभावी भइरहेको देखिन्छ,’ जिल्ला समन्वय समिति प्रमुख नरबहादुर कुवँरले भने । उपभोक्ता समितिलाई यसबारे जानकारी नभएकाले पनि समस्या भएको उनको भनाइ छ । नयाँ सडक निर्माण र डोजरको प्रयोगमा कडाइ गरिने उनले बताए ।
‘अब नयाँ सडक निर्माण गर्दा मापदण्डबिना ट्र्याकै खोल्न नदिने योजना बनाउने तयारी भइरहेको छ,’ उनले भने । यसअघि जथाभाबी खनिएका सडकलाई पनि सडक मापदण्डबमोजिम पुनर्निर्माण गर्न लगाउने उनको भनाइ छ । ट्र्याक खोल्न र जथाभावी डोजर चलाउदा विनाश भइरहेको उनले बताए । ‘अब पूर्वअध्ययन नगरी कुनै पनि ठाउँमा सडक खन्न र डोजर प्रयोग गर्न दिनेछैनौं,’ कुँवरले भने ।
कान्तिपुर दैनिकबाट साभार
क्याटेगोरी : राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस