Techie IT

राष्ट्रपतिद्वारा तीजको शुभकामना : पर्वको नाममा भड्किलो र खर्चिलोपनालाई हटाउँदै जान आग्रह


राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा अटल सौभाग्य, सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

तीज पर्वले चेली–माइती‚ साथी–सङ्गी‚ परिवार एवं आफन्तजन बीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सूत्रमा आवद्ध गर्न मद्दत पुर्याउने पनि उहाँको भनाइ छ ।

यस्तै उहाँले तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनालाई हटाउँदै जानु आवश्यक रहेकामा जोड दिनुभएको छ ।

सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको छ, भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा, उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको छु, उहाँले सन्देशमा भन्नुभएको छ, विवाहपश्चात् महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरका रूपमा समेत तीज पर्वलाई महिलाहरूले लिएको पाइन्छ ।

राष्ट्रपतिले तीजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । यस्तै उहाँले कोरोना संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि सबैमा आह्वान गर्नुभएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस