Techie IT

नेपालमा भारतीय निजी रेल्वे कम्पनीको ढुवानी सेवा सुरु, लागत र झण्झट कम हुने


नेपालमा पहिलोपटक भारतीय निजी कम्पनीको रेलले ढुवानी सेवा सुरु गरेको छ ।

भारतीय कम्पनी हिन्द टर्मिनल प्रालीको रेल विभिन्न सामग्री बोकेर आज बिहान वीरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । भारतको हल्दियाबाट ९० वटा कन्टेनर बोकेको रेल बिहान वीरगञ्ज आइपुगेको समितिले जानकारी दिएको छ ।

यसअघि भारतको सरकारी स्वामित्वको कोन्कन रेलवे निगमले मात्रै नेपालमा सामान ढुवानी गर्न पाउने व्यवस्था रहेकोमा सरकारले निजी रेलले पनि सेवा दिन मिल्ने गरि रेलवे सम्झौता संशोधन गरेको थियो । गएको असार २५ गते सरकारले रेलवे सम्झौता संशोधन गर्दै भारतीय कम्पनी कोन्कनको एकाधिकार अन्त्य गरेको थियो ।

 

नेपालमा भारतीय निजी कम्पनीको प्रवेश भएसँगै ढुवानीमा प्रतिष्पर्धा बढेको र व्यापारीहरुले सस्तो भाडामा तथा झण्झटविनै सामान ल्याउन पाउने समितिका कार्यकारी आशिष गजुरेलले जानकारी दिनुभयो ।

उहाँले बन्दरगाहको क्षमता बढाएर ढुवानीलाई अझै सहज र सस्तो बनाइने बताउनुभयो । अहिले एकतर्फी ढुवानी भएकोमा छिटै दुईतर्फी नै सेवा सुरु गरिने गजुरेलको भनाइ छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस