Techie IT

तापक्रम वृद्घिले डेंगुको जोखिम अत्यधिक बढ्यो :संक्रमण व्यापक हुन सक्ने विज्ञको चेतावनी


यसपटक मनसुनअगावै डेंगु फैलिएकाले संक्रमण अझ बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । धरानमा व्यापक भइसकेको डेंगु बिस्तारै मोरङ र झापामा समेत फैलँदै छ । ‘मुख्य रूपमा बर्सेनि मनसुनपछि दसैं–तिहारतिर डेंगु देखिने गर्थ्यो,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा। शेरबहादुर पुनले भने, ‘मनसुनअगाडि नै यति धेरै ठाउँमा डेंगु देखिएको पहिलोपटक हो ।’ गत वर्ष दसैं–तिहारतिर राजधानीको बालाजु क्षेत्र र पोखरामा डेंगु संक्रमण देखिएको थियो ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाका निर्देशक डा। अनुज भट्टचनले डेंगु फैलाउने लामखुट्टे भएका ठाउँमा जुनसुकै समय प्रकोप फैलिन सक्ने भएकाले नियन्त्रणका लागि समाजदेखि विभिन्न निकाय सघन रूपमै लाग्नुपर्ने बताए । उनले प्रकोप कुर्नुभन्दा अघि नै यसको नियन्त्रण, व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता औँल्याए । ‘मुलुकमा जहाँ एडिस एजिप्टाई जातको लामखुट्टे छ त्यहाँ अनुकूल परिस्थिति निर्माण हुनासाथ प्रकोप फैलिने सम्भावना छ,’ पुनले भने, ‘कहाँ–कहाँ यस्तो लामखुट्टे छ, सरकारले विस्तृत अध्ययन गरेर जानकारी सार्वजनिक गर्नुपर्छ ।’

मुलुकमा बढ्दो सहरीकरण, यातायात पहुँचसँगै तापक्रम वृद्घिले डेंगुको जोखिम अत्यधिक बढेको छ । हाल डेंगु प्रभावित ठाउँबाट संक्रमित व्यक्ति डेंगु फैलाउने लामखुट्टे भएको अन्य ठाउँमा जाँदा त्यहाँसमेत संक्रमण फैलने सम्भावना उच्च छ । डेंगु भाइरस मुख्य रूपमा पोथी एडिस एजिप्टाई लामखुट्टे र थोरै मात्रामा एडिस एल्वोपिक्ट्सबाट फैलिन्छ । दिउँसो टोक्ने यी लामखुट्टेले नै चिकनगुनिया, यलो फिभर, जिका संक्रमणसमेत फैलाउँछन् । संक्रमित व्यक्ति नयाँ ठाउँ जाँदा त्यहाँ रहेको डेंगु फैलाउन सक्ने लामखुट्टेले उसलाई टोकेर संक्रमित हुन्छ । संक्रमित लामखुट्टेले अन्य व्यक्तिलाई टोकेपछि नयाँ ठाउँमा पनि संक्रमण फैलन्छ । डेंगु फैलाउने लामखुट्टे भएका स्थान पहिचान गरी स्थानीयलाई यो संक्रमणबारे सजग गराउनुपर्ने टड्कारो आवश्यकता रहेको विज्ञहरू औंल्याउँछन् । हाल डेंगु ‘डेन २’ सेरोटाइपको भाइरसले फैलाइरहे पनि मुलुकमा यो संक्रमण फैलाउने ‘डेन १, डेन २, डेन ३, डेन ४’ गरी चार प्रकारका भाइरस देखा पर्ने गरेका छन् ।

टेकु अस्पतालका निर्देशक डा। वासुदेव पाण्डे भन्छन्, ‘समुदायमा सबैले एकसाथ लामखुट्टेविरुद्घको गतिविधि सञ्चालन नगरेसम्म त्यो ठाउँविशेषलाई यसको प्रकोपबाट जोगाउन गाह्रो हुन्छ ।’ टेकु अस्पतालको रेकर्ड औंल्याउँदै उनले मधेसका सबै ठाउँसहित ४० जिल्ला डेंगु जोखिमयुक्त रहेको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का अनुसार डेंगुको कुनै विशिष्ट उपचार छैन । छिटो रोग पत्ता लगाउनुका साथै उचित चिकित्सकीय हेरचाह पुर्‍याउन सके मृत्युदर १ प्रतिशतभन्दा कम हुन सक्छ । प्लोस नेग्लेक्टेड ट्रपिकल डिजिजमा प्रकाशित एक अध्ययनअनुसार १ सय २८ मुलुकका ३ अर्ब ९० करोड जनसंख्या डेंगुको जोखिममा छन् ।कान्तिपुर दैनिक


क्याटेगोरी : समाचार, स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस