Techie IT

सिलामुल जयगढ खानेपानीमा ब्रह्मलुट,जनप्रतिनिधि भने आरोप प्रत्यारोपमै व्यस्त ( रिपोर्ट )


सिलामुल जयगढ खानेपानी योजनामा ब्रह्मलुट भएकोे छ ।

बान्नीगढी जयगढ गाउँपालिकाको आर्थिक बर्ष २०७४÷७५ मा ४० लाखको लागतमा सम्पन्न भएको योजनामा ब्रह्मलुट भएकोे हो ।

जयगढ बजारमा खानेपानीको सहज आपुर्ती गर्ने उद्धेश्यले गाउँपालिकाले ४० लाख खर्चेको योजना बर्ष दिन नपुग्दै अवरुद्ध भएपछि योजनामा चरम भ्रष्टाचार भएको सहजै अनुमान गर्न सकिन्छ ।

योजना सम्पन्न गर्न बनाईएको प्राविधिक स्टमेट अनुसार खानेपानीको सम्पुर्ण पाईप ९० सेन्टिमिटर जमिनमुनि गाड्नुपर्ने उल्लेख भएपनि कुनै पनि ठाउँमा ९० सेन्टिमिटर पाईप जमिनमुनी गाडिएको भेटिदैन । जमीनमुनी गाडिएको ठाउँमा समेत १ फिट भन्दा गाडीएको छैन । स्टमेटमा भने अनुसार काम नभएको छर्लँग हुदा हुदै योजनाको पुरा काम सम्पन्न नगरी सम्पुर्ण रकम कसरी भुक्तानी गरियो यो बिषय गम्भिर देखिन्छ ।

यसै बिच बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले सिलामुल जयगढ खानेपानी योजनाको काम स्टमेट अनुसार नभएको बताउनु भएको छ । ४० लाखको लागतमा सम्पन्न भएको खानेपानी योजना निर्माण कार्य सम्पन्न भएको बर्षदिन नपुग्दै अवरुद्ध भएपछि रेडियो बान्नीगढीसँगको कुराकानीका क्रममा अनुमगन समितिका सँयोजक समेत रहनु भएका उपाध्यक्ष साउँद स्वयमले खानेपानी योजनाको काम स्टमेट अनुसार नभएको खुलाएसँगै योजनाको सम्पुर्ण रकम के कसरी भुक्तानी गरियो भन्ने बिषयले झन ठुलो प्रश्न चिन्ह खडा गरेको छ ।

यता गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले भने सिलामुल जयगढ खानेपानी योजनामा गाउँपालिका उपाध्यक्ष साउँद मुख्य दोषी रहेको आरोप लगाउनु भएको छ । खानेपानी योजनाका लागी अगुवाई गर्नु भएका उपाध्यक्ष साउँद लगायत सम्बन्धीत निकायलाई बोलाएर छलफल गर्ने अध्यक्ष खड्काले बताउनु भएको छ । यसै बिच बान्नीगढी जगढ गाउँपालिका उपाध्यक्ष साउँदले योजनाको काम स्टमेट अनुसार सिलामुल जयगढ खानेपानी योजनाको निर्माण कार्य पुरा भए पश्चात अनुगमन गर्दा स्टमेट अनुसार काम नभएको देखिएपछि प्राविधिकसँग सल्लाह गर्दै ३० लाख भन्दा माथि रकम भुक्तानी नगर्न अनुरोध गरिएको बताउनु भएको छ ।

अनुगमन समिति र प्राविधिकसँगको छलफलका क्रममा खानेपानी योजनामा सम्पन्न भएको कामको मुल्याँकन गरि ३० लाख बरावर भुक्तानी दिन मिल्ने निष्कर्ष निकालीएको उपाध्यक्ष साउँदले खुलासा गर्नु भएको छ । गाउँकार्यपालिको बैठकमा पनि योजनाका पुरा काम सम्पन्न नहुन्जेल सम्म ३० लाख मात्रै भुक्तानी गर्ने बारे छलफल गरिएकोमा योजनाको एकमुष्ट रकम ३८ लाख कसरी भुक्तानी भयो भन्नेबारे आफु बेखवर रहेको उपाध्यक्ष साउँदले दावी गर्नु भएको छ । यता गत असार मासान्त सम्म आईपुग्दा योजनाको काम स्टमेट अनुसार नभएपछि केहि रकम फ्रिज हुने सम्भावनाका कारण बान्नीगढी गाउँपालिकाले योजनाको ३८ लाखको चेक उपभोक्ता समितिलाई बुझाएको र बैँकलाई भने योजनाको ३० लाख रकम मात्रै भुक्तानी गर्न अनुरोध पत्र पठाएको कुरा पनि सतहमा आएको छ ।

तर ३८ लाखको चेक प्रदान गरिसके पश्चात ८ लाख रोक्न के कसरी अनुरोध गरिएको थियो यो बिषयमा गाउँपालिकामा भने कुनै लिखित कागजपत्र भेटिदैन । उता उपभोक्ता समितिले भने ३८ लाखको चेक पुरै जम्मा गरि ३८ लाख रुपैया नै भुक्तानी पाईसकेको थियो । ३० लाख भन्दा माथीको काम सम्पन्न नभएको अनुगमन समितिको निष्कर्ष हुदाहुँदै किन ३८ लाखको चेक एकै पटक प्रदान गरियो त ? यसमा कर्मचारी र जनप्रतिनिधिको मिलेमतो थियो कि भन्ने सहजै आँकलन गर्न सकिन्छ ।

गाउँपालिकाले जयगढ बजारमा खानेपानीको आपुर्तीका लागी बजेट बिनियोजन गरेसँगै योजना सम्पन्न गर्न उपभोक्ता समिति गठन गरिएको थियो । प्रेम ठकुल्लाको अध्यक्षतामा गठन गरिएको उपभोक्ता समितिले भने खानेपानी योजनाको निर्माण कार्य सम्पन्न गर्न मेल्लेख गाउँपालिकाका सुरत साउँदलाई ठेक्का दिई काम सम्पन्न गरेको खुलेको छ ।

खोनेपानी योजनाको ठेक्का समन्धमा रेडियो बान्नीगढीलाई प्राप्त अडियोमा उपभोक्ता समितिबाट कामको जिम्मा पाएका सुरत साउँदले आफुलाई ३५ लाखमा योजनाको ठेक्का दिएको खुलाएका छन । काम सम्पन्न गर्नका लागी उपभोक्ता समितिले आफुलाई ३५ लाखमा ठेक्का दिएको र २÷३ लाख उपभोक्ता समितिलाई व्यवस्थापन खर्च बचाएको साउँदले बताएका छन । गाउँपालिकाको केन्द्र रहेको जयगढ बजारमा खानेपानीको समस्या समाधान गर्नका लागी ४० लाख खर्च गरि निर्माण गरिएको खानेपानी बर्ष दिन नपुग्दै अवरुद्ध हुनु र योजनामा भ्रष्टचार भएको कुरा बाहिर आउनुले गाउँपालिकाकै बदनाम हुन पुगेको देखिन्छ ।

गाउँपालिकाको अनुगमन समिति सँयोजक तथा गाउँपालिका उपाध्यक्ष साउँदले योजनाको काम स्टकेट अनुसार नभएको स्वयमले खुलाउनु र गाउँपालिका अध्यक्ष खड्काले योजनाको मुख्य दोष गाउँपालिका उपाध्यक्ष साउँदलाई दिनुले सवै आ आफनो कर्तव्यबाट बिमुख भएको देखिन्छ । ४० लाखको योजनाको गुणस्तर अनुगमनका क्रममा बास्ताबिकता वाहिर किन आएन र योजनाको रकम भुक्तानीका बिषयमा थरि थरि कुरा बाहिर आईरहेका छन । यस पछाडीको राज के हो हामी सबैले खोजी गर्नुपर्ने देखिन्छ ।


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!