निर्मला पन्त हत्या प्रकरण: पुरानै आरोपीमाथि फेरि अनुसन्धान

निर्मलाकी आमाद्वारा विष्टमाथि पुनः अनुसन्धान गर्न माग

डिएनए परीक्षणमै त्रुटि भएको ठहर भएपछि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले पुरानै सशंकित व्यक्तिमाथि छानबिन थालेको छ । परिस्थितिजन्य र अन्य प्रमाणलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको हो । हालसम्मको अनुसन्धानमा दिलीपसिंह विष्ट अपराधको सबैभन्दा नजिक छन् । उनलाई प्रहरीले गत वर्ष अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । पछि डिएनए नमिलेपछि छाडेको थियो । उनीलगायत पहिला पक्राउ गरेर सोधपुछ गरिएका व्यक्तिहरूमाथि नै प्रहरीले फेरि सूक्ष्म रूपमा अनुसन्धान थालेको छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले डिएनएको नमुना परीक्षणमै त्रुटि भएकाले सो घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्षसहितको प्रतिवेदन गत ५ कात्तिकमा गृह मन्त्रालयलाई दिइसकेको छ । जसकारण प्रहरीले पहिला पक्राउ गरेर सोधपुछ गरेका व्यक्तिहरूमध्ये नै घटनाका अभियुक्त भएको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रतिवेदनमा अभियुक्तको वीर्य भनेर परीक्षण गरिएको नमुना वीर्य नै हो भन्न नसकिने उल्लेख छ । चिकित्सक वा प्राविधिकहरूको पसिना नमुनामा मिसिएको हुन सक्ने आकलन गरिएको छ । प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पठाइसकिएको छ । प्रतिवेदनसमेतका आधारमा अनुसन्धान भइरहेको कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए ।

यसअघि नै राष्ट्रिय मानवअधिकार आयोगले समेत डिएनए परीक्षणमा त्रुटि भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । कसैको डिएनए नमिलेपछि डिएनएमै त्रुटि भएको आशंकामा गृह मन्त्रालयले गत भदौमा रिजालको संयोजकत्वमा डिएनए परीक्षणसम्बन्धी विज्ञ समिति गठन गरेको थियो । जसमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनएविद् दिनेश झा र त्रिवि शिक्षण अस्पताल महाराजगन्जका डा।तुलसी कँडेल सदस्य थिए ।

डिएनए परीक्षणका लागि भजाइनल स्वाबलगायतका नमुना संकलन गर्दा सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरिएको थियो । यो प्रक्रिया पूर्णतः दोषमुक्त नरहेको एक अधिकारीले बताए । छानबिन समितिले पोस्टमार्टम तथा नमुना संकलनमा संलग्न चिकित्सकसँग समेत सोधपुछ गरेको थियो । अघिल्लो दिनमै हत्या भएकोमा भोलिपल्ट साँझ मात्र नमुना लिइएको थियो । त्यसले पनि नमुना दूषित भएको हुन सक्ने औँल्याइएको छ ।

७० भन्दा धेरैको डिएनए परीक्षण
यो घटनामा शंकास्पद ७० जनाभन्दा धेरैको डिएनए परीक्षण गरिएको थियो । नमुना मिश्रित रूपमा परीक्षण गर्दा अटोजोमल प्रविधि सम्भव नभएको र यसमा चिकित्सकको कमजोरी भएको औँल्याइएको छ । तीनवटा भजाइनल स्वाबमा पुरुष डिएनएको मात्रा फरक–फरक पाइएको, डिएनए मात्रा अत्यधिक कम भएकाले सही परिणाम आउन नसक्ने अवस्था देखिएको छानबिन समितिको निष्कर्ष छ ।

१० साउन ०७५ मा महेन्द्रनगरमा पन्तको बलात्कारपछि हत्या भएको थियो । घटनाको २५ दिनपछि प्रहरीले स्थानीय दिलीपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । तर, मानसिक रोगी रहेका नक्कली अभियुक्तलाई सार्वजनिक गरेको भन्दै स्थानीयले आन्दोलन गरेका थिए । पछि विष्टको डिएनएसमेत नमिलेपछि प्रहरीमाथि सर्वसाधरणको आक्रोश बढेको थियो ।

प्रहरीले प्रमाण नष्ट गरेको, यातना दिएको भन्दै आठजना प्रहरीविरुद्ध मुद्दा दायर भएको थियो । एआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको सिफारिसका आधारमा त्यसरी मुद्दा दायर भएको थियो । अहिले फेरि विष्ट नै प्रहरी अनुसन्धानको पहिलो नम्बरमा छन् । पहिलेभन्दा उनीविरुद्ध धेरै प्रमाणसमेत संकलन भइसकेको प्रहरी अधिकारीको दाबी छ । नयापत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker