Techie IT

विषाक्त मदिरा सेवनबाट सर्लाहीमा आठ जनाको मृत्यु


विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमा दशगजाबाट करिव दुई किलोमिटर उत्तरतर्फ पर्ने पडरिया गाउँमा संचालित एक घरेलु मदिरा उत्पादन गर्ने भट्टी पसलमा मदिरा सेवन गरेकाहरुको मृत्यु भएको हो ।

सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, पडरिया गाउँमा चार दिनमा तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको छ । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट भृत्यु भएको चिकित्सकले आशङ्का गरेका छन् ।

मृत्यु हुनेहरुमा पडरिया गाउँका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहनु भएको छ । यस्तै, भारतको उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसादको पनि मृत्यु भएको छ ।

मृतक तीनै जना भारतीय नागरिक चन्दन इँटा उद्योग पडरियाका मजदुर हुन् ।

जिल्ला अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले मदिरा सेवनबाट सबैको मृत्यु भएको जानकारी आएपनि मृत्युको कारण पत्ता लगाउन मृतकहरुको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब, काठमाडौं पठाउने तयारी गरिएको बताउनुभयो ।

डा. झाले बिरामीहरुसँग पनि घटनाबारे थप सोधखोज गरिने बताउनु भएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस