Techie IT

अछाममा कोरोना सङ्क्रमण फेरी बढ्ने सङ्केत, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह


अछाममा जारी निषेधाज्ञा खुकुलो बनाइए सँगै कोरोना संक्रमणदर बढ्ने सङ्केत देखिएको छ । जिल्ला प्रशासन कार्यालय अछामले निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै जाने स्वास्थ्यकर्मीले बताएका छन् ।

निषेधाज्ञामा केही खुकुलो बनाइए सँगै भिडभाड तथा स्वास्थ्यका मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढ्ने स्वास्थ्यकर्मीले बताएका हुन् ।

अछाम जिल्लामा रहेको एक मात्र कोरोना परीक्षण केन्द्र कमलबजार पिसीआर प्रयोगशालामा अहिले कोरोना परीक्षण गराउन कोही पनि नजाने गरेको पाइएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहरको सुरुमा १ सय भन्दा धेरैको दैनिक परीक्षण हुने कमलबजार प्रयोगशालामा पछिल्ला केही दिन देखि कोरोना परीक्षण शून्य छ । कमलबजार पिसिआर प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टका अनुसार अहिले संयम मानिसहरू नै कोरोना परीक्षण गर्न मानिरहेका छैनन् ।

पहिले पहिले स्थानीय सरकारले कोरोना परीक्षण र स्वाब सङ्कलनमा बेवास्ता गरे पनि अहिले सर्वसाधारणले नै कोरोना परीक्षण गर्न मानिरहेका छैनन् । भारत लगायतका देशबाट आउने र जानेको सङ्ख्या अहिले पनि उत्तिकै छ, तर जिल्लामा कोरोना परीक्षण भने शून्य छ ।

असार २८ गतेदेखि कमलबजार पिसिआर प्रयोगशालामा कोरोना परीक्षण हुन सकेको छैन । कोरोनाको परीक्षण हुनै छोड्दा विकराल समस्या निम्तिन सक्ने विज्ञहरूले औल्यायका छन् ।

कुनै समय अत्यावश्यक पसलहरू खोल्नसमेत कडाइ गरिएको अछाममा अहिले लामो दूरीमा चल्ने सवारी सञ्चालनलाई पनि अनुमति दिइएको छ । अहिले निषेधाज्ञा खुकुलो भए पनि स्वास्थ्य मापदण्ड पालना भएको छैन ।

बजारमा किनमेलदेखि सरकारी कार्यालयको सेवा र स्वास्थ्य संस्था जस्ता ठाउँमा समेत स्वास्थ्य मापदण्ड उल्लङ्घन भइरहेको छ ।

कोरोनाविरुद्धको खोप लगाउनेलाई पनि सङ्क्रमण देखिएकाले अझै सतर्क रहन जरुरी छ भने स्वास्थ्य मापदण्डको पालना भए नभएको प्रभावकारी अनुगमन गर्न अझ बढी आवश्यक छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

चन्द रेडियो बान्नीगढीमा कार्यरत छन् । करिब एक दशकदेखि पत्रकारिता गरिरहेका चन्दले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस