Techie IT

२२ मेगावाट विद्युत उत्पादन गर्ने सुदूरपश्चिम सरकारको लक्ष्य, पहुँचमार्ग पनि भएन विस्तार


२२ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको सुदूरपश्चिम सरकारले आयोजनास्थल जोड्ने पहुँचमार्गसमेत विस्तार गर्न असफल भएको छ।

प्रदेश सरकारले तीन वटा जलविद्युत आयोजना निर्माणका लागि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको भए पनि अहिलेसम्म पहुँचमार्गसमेत विस्तार नभएको हो।

सुदूरपश्चिम प्रदेशमा हजारौँ मेगावाट विद्युत उत्पादन गर्न सकिने सम्भावना रहेको भएपनि प्रदेश सरकारलाई भने तीनदेखि २० मेगावाट क्षमताका जलविद्युत आयोजना मात्रै निर्माण गर्नसक्ने अधिकार प्रत्यायोजन गरिएको छ ।

सुदूरपश्चिम सरकारले बैतडीको सुर्नाया नदी र दार्चुलाको नौगाडबाट २२ दशमलब ३३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेकोमा गत वर्षको बजेटमै आयोजनास्थलसम्म पहुँचमार्ग विस्तार गर्ने योजना राखिएको थियो।

बजेट बिनियोजन भए पनि प्रदेश सरकारले सडक निर्माणको कामसमेत गर्न नसकेको हो। गत आर्थिक वर्षको बजेटमा नौगाड तथा सुर्नायामा सडक पुगाउन ८० लाखका दरले बजेट राखिएको भएपनि सडक निर्माण नै नभएको पूर्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले बताए।

‘गत आर्थिक वर्षको बजेटमा जलविद्युत गृह निर्माण हुने ठाउँमा सडक पुगाउन बजेट विनियोजन गरिएको थियो। तर सडक निर्माणको काम हुन सकेन,’ उनले भने, ‘सडक निर्माणका लागि सुर्नाया र नौगाडका लागि ८० लाखका दरले बजेट विनियोजन गरिएको थियो। तर सरकारले काम गर्न सकेन।’

सुदुरपश्चिमका विभिन्न नदीहरुबाट प्रदेश सरकारले १६ सय ५१ मेगावट जलविद्युत उत्पादन गर्न सक्ने अनुमान छ।

प्रदेशका साना नदीहरुबाट उक्त क्षमताको विद्युत उत्पादन गर्ने अधिकार प्रदेश सरकारसँग भए पनि २२ मेगावाटका तीन वटा जलविद्युत आयोजनाको भने प्रारम्भिक वातावरणीय प्रभाव अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनका लागि सम्झौता भएर काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी इन्जिनियर छबिराज जैसीले बताए।

‘पहिलो आर्थिक वर्षमा पूर्व सम्भाव्यता अध्ययन गर्यौँ। दोस्रो आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्नको लागि परामर्शदाता छनोट गरेर सर्भे गर्ने काम भइरहेको छ,’ जैशीले भने, ‘विस्तृत परियोजना प्रतिवेदन बुझाएपछि मात्रै सरकारले निर्माणको प्रारुप तथा स्रोत व्यवस्थापनको सुनिश्चितता भएपछि मात्रै जलविद्युत आयोजनाको निर्माणको काम अगाडि बढ्ने छ।’

सुदूरपश्चिममा १८ हजार १ सय ४९ मेगावाट जलविद्युत उत्पादन गर्नसक्ने सम्भावना रहेको छ । तर अहिलेसम्म सुदूरपश्चिममा ४१ मेगावाट मात्रै विद्युत उत्पादन भएको छ ।

प्रदेश सरकारले ६ दशमलव ९७ मेगावट क्षमताको नौगाड, ७ दशमलव ६५ मेगावाटको सुर्नया र ७ दशमलव ७१ मेगावाटको माथिल्लो सुर्नया जलविद्युत आयोजनाको निर्माण गर्ने लक्ष्य राखेको छ।


क्याटेगोरी : समाचार, समाज, हेडलाईन


प्रतिक्रिया दिनुहोस