Techie IT

सुदूरपश्चिमबाट कामका लागि भारत जानेहरु उतै हराउने क्रम बढ्यो


३० वर्षअघि कामको खोजीमा छिमेकी मुलुक भारत पुगेका कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्वर ५ प्रताप विकको अझै अत्तोपत्तो छैन । कामका लागि भारतको मुम्बई पुगेका उनको अवस्था अज्ञात रहेको हो ।

डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाँझ गाउँका ३२ वर्षीय दिलबहादुर खड्का हराएको पनि ७ वर्ष वितिसकेको छ।

श्रीमती प्रेमा खड्काका आँखा भने रोएरै थाकिसकेका छन्। फर्कने आशा जिवितै रहेपनि खोजी कार्यका लागि भने कहिकतैबाट पहल नभएको उनको गुनासो छ।

‘घरमा बसेर गुजारा चलाउन सकिदैन भनेर हिडेका श्रीमान कहाँ गए अहिलेसम्म कुनै पत्ता लागेको छैन,’ बेपत्ता दिलबहादुरकी श्रीमती प्रेमाले भनिन्, ‘श्रीमानको बाटो हेरेर बस्नुबाहेक मसँग अर्को विकल्प समेत छैन।’

शिखर नगरपालिका वडा नम्बर ३ डोटीका चेत भुल हराएको पनि १९ वर्ष भइसकेको छ। खोजी कार्य कहिकतैबाट भएको छैन। तर बेपत्ता चेतको परिवार भने एक दिन अवश्य फर्केर आउने आशामा छ।

‘कामका लागि निक्सेको भाई भारतमै हरायो,’ बेपत्ता चेतका दाई काँशी भुलले भने, ‘भाईको बिहेसमेत भएको छैन। हराएको १९ वर्ष वितिसक्दा पनि खोजी कार्यका लागि कहिकतैबाट पहल भएको छैन।’

तेस्रो मुलुक जानेहरुका लागि सरकारले नीति नियम बनाएको छ। तर भारत जानेहरुका लागि भने कुनै नियम नै छैन।

त्यसैले सुदूरपश्चिमेलीहरुको रोजगारीको प्रमुख गन्तव्य भनेकै भारत हो। आधिकारीक रुपमा सन् १८१६ मा भएको सुगौली सन्धिपछि नेपालीहरू कामका लागि भारत जाने गरेको विभिन्न तथ्यहरूले देखाउँछ। नीति नियम नहुँदा भारतमा हराएका, अंगभंग भएका तथा मृत्यु भएका कामदारहरुको क्षतिपूर्ति समेत पाउने व्यवस्था छैन।

सुदूरपश्चिमबाट कामका लागि भारतका विभिन्न सहर पस्नेहरुको संख्या जुन रुपमा बर्सेनि बढ्दै गएको छ, हराउने क्रम पनि पछिल्लो समय सोही रुपमा बढ्दै गएको पाइएको हो।

कामका लागि भारत पसेका सुदूरपश्चिमेलीहरुमध्ये आधिकारीक रुपमा कति बेपत्ता भएको छन् भनेर कुनै तथ्यांक नभएपनि सयौँको संख्यामा वर्षौदेखि बेपत्ता भएकाहरुको खोजी कार्यमा सरकारले भने चासो दिएको देखिदैन्।

बेपत्ता हुनेहरुको संख्या बर्सेनि बढ्दै गए पनि भारमा हराएका आफन्तहरुको खोजी कार्यका लागि प्रहरीमा समेत खासै उजुरी हाल्ने गरेको पाइदैन्।

‘बेपत्ता भएकाहरुको उजुरी प्रहरीसम्म खासै आउने गरेको छैन,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक एवं प्रवक्ता योगेन्द्रसिंह थापाले भने, ‘सुदूरपश्चिम प्रदेशबाट कामका लागि भारतका विभिन्न सहर पस्नेमध्ये केही व्यक्ति उतै हराउने गरेको भए पनि आफन्तको उजुरी प्रहरीसम्म कमै मात्र आउने गरेको छ।’


क्याटेगोरी : समाचार, समाज, हेडलाईन


प्रतिक्रिया दिनुहोस