Techie IT

सेती अस्पतालमा अक्सिजन भण्डारण गर्न प्लान्ट जडान सुरु


सेती प्रादेशिक अस्पतालमा अक्सिजन भण्डारण गर्न लिक्युड प्लान्ट जडान सुरु भएको छ ।

अक्सिजन आवश्यक पर्ने बिरामी थपिने क्रम बढेपछि अस्पताल प्रशासनले दीर्घकालीन समाधानको बाटो खोजेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

‘केही सामान अझै धनगढी पुगेको छैन, प्लान्ट जडान गर्न झण्डै एक महिना लाग्ने देखिएको छ,’ अस्पतालका सूचना अधिकारी श्रेष्ठले भने।

सेती प्रादेशिक अस्पतालका मेसु डा. हेमराज पाण्डेयका अनुसार संघीय सरकारको आपूर्ति महाशाखाले दातृ निकायको सहयोगमा अस्पतालमा अक्सिजन लिक्युड प्लान्ट जडान सुरु भएको हो ।

‘अक्सिजन लिक्युड ट्याङ्क जडान भएपछि अक्सिजनको आपूर्तिमा सहज हुनेछ,’ उनले भने, ‘अस्पतालको प्लान्टबाट उत्पादन भएको अक्सिजन पनि भण्डारण गरिनेछ भने अन्य क्षेत्रबाट ल्याइएको अक्सिजन पनि भण्डारण गरिनेछ।’

सेती प्रादेशिक अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट अहिले दैनिक ७० सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ भने माग झण्डै एक सयको हाराहारीमा छ।

अन्य क्षेत्रबाट ल्याइएको अक्सिजनसमेत लिक्युड प्लान्टमा जडान गरिने सेती प्रादेशिक अस्पतालले जनाएको छ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण दर बढेको समयमा अक्सिजन नपाएर धेरैले ज्यान गुमाएका थिए।


क्याटेगोरी : समाचार, समाज


प्रतिक्रिया दिनुहोस