Techie IT

धनगढी उपमहानगरको इन्धन खर्च सवा करोड, कार्यकर्तालाई ९ लाखको कुपन


धनगढी उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै इन्धन वितरणमा मनपरी बढेको छ ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा मात्रै इन्धनको नाममा एक करोड १९ लाख २१ हजार २ सय १९ रुपैयाँ खर्च गरेको हो ।

२ सय ४८ स्वीकृत कर्मचारी कार्यरत रहेको उपमहानगरपालिकाले कार्यालय कर्मचारी प्रयोजनको नाममा इन्धनबापत मात्र ८० लाख २९ हजार ८ सय १० रुपैयाँ खर्च गरेको पाइएको छ ।

उपमहानगरपालिकामा कार्यरत कर्मचारीको तुलनामा इन्धनमा भएको यो खर्च निकै बढी हो ।

यस्तै उपमहानगरपालिकाभित्र कार्यरत निर्वाचित जनप्रतिनिधिहरुले मात्र २९ लाख ९९ हजार ५ सय १७ रुपैयाँको ईन्धन प्रयोग गरेका छन् ।

त्यसैगरी उपमहानगरपालिकाका मेयर लगायत जनप्रतिनिधिले आफु निकटका कार्यकर्तालाई ८ लाख ९१ हजार ८९२ रुपैयाँ बराबरको इन्धनको कुपन वितरण गरेका छन् । जुन कानुन विपरीत गरिएको खर्च हो ।

यसरी उपमहानगरपालिकाले आफ्नो आन्तरिक आय बढाउनेतिर केन्द्रीत हुनुभन्दा जथाभावी खर्च गर्ने प्रवृत्तिले नगरवासीले तिर्दै आएको करको दुरुपयोग हुने गरेको आरोप लाग्न थालेको छ ।

एमालेका नेता रणबहादुर चन्दले इन्धनमै वर्षमा एक करोड भन्दा बढी खर्च भएको सुन्दा आश्चार्य लागेको बताए । ‘महानगरपालिकाले आफ्नो आन्तरिक आय बढाउनेतिर लाग्नु भन्दा ईन्धनमै यति ठुलो रकम खर्च गरेर नगरवासीले तिरेको करको अपमान भएको छ’ उनले भने ।

उपमहानगरपालिकालाई बाहिरी रुपमा जति राम्रो देखाउन खोजेपनि भित्री रुपमा आर्थिक अनियमितता मात्र होइन आफ्ना कार्यकर्तालाई तेलका कुपन बाँडेर रकम दुरुपयोग हुने गरेको उनले बताए। ‘यसको सबै हिसाब किताब नगरवासीले आगामी निर्वाचनमा खोज्ने छन्’ उनले भने ।

धनगढी उपमहानगरपालिकाका प्रशासन तथा जनशक्ति विकास शाखा प्रमुख नारायणप्रसाद शर्माले जनप्रतिनिधिको इन्धन सुविधा प्रदेश सरकारले नै तोकिदिएकाले सोही अनुसार भइरहेको दाबी गरे । ‘कर्मचारीलाई श्रेणी हेरेर इन्धन उपलब्ध गरिँदै आएको छ भने अन्य खर्चको विषयमा मलाई खासै जानकारी छैन’ उनले भने ।

उपमहानगरपालिकाको प्रशासनिक खर्च समेत हरेक वर्ष बढ्दै गएको पाइएको छ। व्यवस्थापकिय कमजोरीकै कारण उपमहानगरपालिकाको आन्तरिक आम्दानीको तुलनामा चालू खर्च बढ्दै गएको हो ।

इन्धनमा मात्र वार्षिक एक करोड १९ लाख खर्च गर्दै आएको उपमहानगरपालिकाले नगरवासीको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लागेको छ। तर धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले भने नगरपालिका हुँदा थोरै जनशक्ति र जनप्रतिनिधि नभएका कारण खर्च कम भएको र अहिले कर्मचारी र जनप्रतिनिधि आएपछि विकाससँगसँगै इन्धन खर्च पनि सोहिअनुसार बढ्दै तर्क गर्छन् ।

‘डेढ/दुई सयको संख्यामा मोटरसाइकल छन्, टिपर, स्काभेटर, अन्य सवारी साधन समेत रहेकाले इन्धनमा ठुलो खर्च भएको देखिएको हो’ उनले भने। उपमहानगरपालिकाको आन्तरिक आय बढ्दो क्रममा रहेको समेत प्रवक्ता मुडभरीले दाबी गरे ।

निर्वाचित जनप्रतिनिधि, कर्मचारी मात्र होइन ती जनप्रतिनिधिका आसेपासे तथा कार्यकर्ताले समेत धनगढी उपमहानगरपालिकाबाट इन्धनको सुविधा लिइरहेका छन् । तर उपमहानगरपालिकामा ज्यालादारीमा काम गर्ने कर्मचारीले भने इन्धन सुविधा पाएका छैनन् ।

उपमहानगरपालिकाले भने इन्धनको अभावमा आपत विपतमा परेकाहरुलाई पनि तेलको कुपन दिएर सहयोग गर्ने गरेको बताएको छ ।


क्याटेगोरी : समाचार, समाज


प्रतिक्रिया दिनुहोस