Techie IT

बैतडीमा १४ महिनाको तलब नपाएपछि परिवारसहित अनशनमा बसे शिक्षक


बैतडीमा १४ महिनासम्मको तलब नपाएपछि परिवारसहित एक शिक्षक आमरण अनशनमा बसेका छन् ।

शिवनाथ गाउँपालिका– ६ हिरापुरस्थित हिरापुर माविमा राहत कोटामा कार्यरत शिक्षक करन राना आइतबारदेखि जिल्ला समन्वय समिति बैतडीको कार्यालय अगाडि अनशन बसेका हुन् ।

शिक्षक राना ६ वर्षअघि गाउँबाट बिस्थापित भएपछि दशरथचन्द नगरपालिका ४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा काम गरिरहेका छन्। तर उनले गत १४ महिना सम्मको तलब पाएका छैनन् ।

रानाले जिल्ला शिक्षा समितबाट ईश्वर आधारभूत विद्यालयमै पदस्थापन पाउने आश्वासन पाएपछि पहिला काम गरेको विद्यालयबाट पदस्थापनको स्वीकृति लिनुका साथै सबै प्रक्रिया पुरा गरेका थिए । २ वर्षअघि नै प्रक्रिया पुरा गरेपनि शिक्षा समितिले पदस्थापन गरिदिएको छैन ।

करन रानाको पदस्थापनका लागि जिल्ला शिक्षा समितिले पटक–पटक आश्वासन दिएपनि माग पुरा नगरेकाले राना श्रीमति र ४ छोराछोरी सहित आइतबारदेखि अनशनमा बसेका हुन् ।

उनको माग सम्बोधन गर्नका लागि पहल गरिरहेको शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले बताए ।


क्याटेगोरी : समाचार, समाज


प्रतिक्रिया दिनुहोस