Techie IT

चिसो बढेपछि तिंकरको प्रहरी टोली छाङरु झर्‍यो


दार्चुलाको चीनसँगको सीमा क्षेत्र ब्यास गाउँपालिका–१ तिंकरमा रहेको सीमा प्रहरी चौकी चिसो बढेपछि छाङरु झरेको छ ।

कात्तिकको सुरुवातमै भएको हिमपातका कारण अत्यधिक चिसो बढेपछि प्रहरी टोली छाङरु झरेको दार्चुला प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

सीमा प्रहरी चौकी तिंकरका इन्चार्ज प्रहरी नायव निरीक्षक हर्क महतारा नेतृत्वको प्रहरी टोली ६ कात्तिकमा छाङरुमा सरेको डिएसपी भट्टले बताए ।

तिंकर गाउँभन्दा माथिल्लो क्षेत्र छियालेकमा प्रहरी बस्ने गरेको छ । ‘तिंकरमा चिसोले पानीसमेत जम्ने अवस्था भएपछि प्रहरी टोली छाङरु झरेको छ । तिंकर गाउँसम्म छाङरुबाटै गस्ती गर्ने गरिएको छ’, डिएसपी भट्टले भने ।

छाङरु प्रहरी चौकीबाट पनि चारजना ब्यास गाउँपालिका–२ दुम्लीङ प्रहरी चौकी झरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी पुष्कर सिह ऐरीले बताए ।

‘तिंकरको प्रहरी टोली तल झरेपछि तलबाट चारजना दुम्लिङ झरेका छन् । तिंकरबाट तल सामान ओसार्ने काम भइरहेको छ’, उनले भने । दुवै चौकीका प्रहरी बस्न ठाउँ अभाव भएर केही दुम्लिङ झरेका हुन् । सीता पुलमा प्रहरीको नयाँभवन निर्माणको कामसमेत भइरहेको छ ।

सीता पुल भारतसँग सीमा जोडिएको क्षेत्र हो । भारतको गव्र्याङ गाउँ र नेपालको छाङरु गाउँ जोड्ने नाका सीता पुल हो । सीता पुलमा महाकाली नदीमाथि काठेपुल राखिएको छ । छाङरुदेखि १२ किलोमिटर उत्तरपूर्वमा तिंकर गाउँ छ । तिंकर उत्तरतर्फको अन्तिम बस्ती हो । तिंकरबाट ५/६ घण्टा हिमाल चढेपछि चीनको सीमा क्षेत्र पुगिन्छ ।

भारतले अतिक्रमण गरेको कालापानी नजिकका गाउँहरू छाङरु र तिंकरमा हिउँदमा भारी हिमपात हुने गरेको छ । छाङरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना हुनुभन्दा पहिले छाङरु र तिंकरको प्रहरी टोली हिउँदमा ब्यास गाउँपालिका–२ दुम्लिङ झर्ने गरेको थियो ।

सशस्त्रको गुल्म छाङरुमा बाह्रै महिना बस्न थालेपछि प्रहरीले पनि छाङरुमा बाह्रै महिना उपस्थिति जनाउन थालेको छ ।


क्याटेगोरी : समाचार, समाज, हेडलाईन


प्रतिक्रिया दिनुहोस