Techie IT

जनप्रतिनिधिको अदूरदर्शीताका कारण बान्नीगढीमा समस्या : समाजसेवी खत्री (भिडियो सहित )


असक्षम जनप्रतिनिधिका कारण बान्नीगढी जयगढ गाउँपालिकामा विभिन्न समस्या निम्तिने गरेको समाजसेवी तीलक खत्री तिमिल्सैनाले बताउनु भएको छ ।

जनप्रतिनिधिको असक्षमता र अदूरदर्शीताका कारण बान्नीगढी जयगढ गाउँपालिकामा विकास निर्माण देखी नीति कार्यान्वयनमा समस्या भइरहेको खत्रीले बताउनु भएको हो ।

बनेका ऐन कानुन पालना नगरी जिम्मेवार पदमा रहेकाहरूबाटै मनपरी क्रियाकलाप सञ्चालन गरिदा विकासको बजेटको सदुपयोग हुन नसकेको र आम नागरिकमा वितृष्णता पैदा भएको उहाँको भनाइ छ ।

जिल्ला विकास समिति अछामका पूर्व सदस्य रहनु भएका खत्रीले बान्नीगढी जयगढ गाउँपालिकाबाट सञ्चालन भएका तथा हुने गरेका विभिन्न योजना तथा बजेटका बिषयमा जनप्रतिनिधि नै एकमत नहुनु दुःखद रहेको बताउनुभयो ।

गाउँपालिकामा हालसालै नियम विपरीत सञ्चालन गरिएको डिप बोरिंग योजनाले पनि बान्नीगढी गाउँपालिकाका जनप्रतिनिधिको गैर जिम्मेवारीता उदाङ्गो भएको खत्रीको बुझाई छ ।

यस्तै १५ शय्या अस्पतालको उद्धघाट्नमा गरिएको हतारो र गाउँपालिकाका विभिन्न योजनामा आवश्यकतालाई प्राथमिकतामा नराखी गरिएको रकम विनियोजन लगायत गतिविधिले पनि जनप्रतिनिधिमा दूरदर्शिताको अभाव देखिएको खत्रीले बताउनुभयो ।

दिन दुखी तथा जनताको सेवाका लागी निर्वाचित गराइएका जनप्रतिनिधिले नै नियम विपरीत मनपरी काम गर्दा गम्भीर समस्या निम्तिने उल्लेख गर्दै उहाँले यसका विरुद्ध युवाहरू प्रतिकारमा उत्रिनुपर्ने बताउनुभयो ।

युवाहरूले जनप्रतिनिधिलाई समाजप्रति जिम्मेवार बनाउन तथा इतिहास रच्ने गरि काम गर्न गराउन आवश्यक भूमिका खेल्नुपर्नेमा खत्रीले जोड दिनु भएको छ ।

समृद्ध जयगढ गन्तव्य अभियानको आयोजनामा जेठ ११ गतेदेखि सुरु भएको सप्ताह व्यापी भर्चुअल अन्तरक्रिया कार्यक्रमको अन्तिम दिन समाजसेवी खत्री प्रमुख वक्ताको रुपमा रहनु भएको थियो ।

बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँद समेत सहभागी रहनु भएको कार्यक्रममा भ्रष्टाचारमुक्त बान्नीगढीका बिषयमा उपाध्यक्ष साउँद र समाजसेवी खत्री लगायत सहभागी बिच गहन छलफल समेत गरिएको थियो ।

तारा प्रसाद पाण्डेको संयोजकत्वमा सञ्चालन भएको सप्ताहव्यापी भर्चुअल कार्यक्रममा सहभागिता जनाउने सबै सहभागी तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै पाण्डेले सप्ताहव्यापी कार्यक्रम सकिएसँगै केही दिनमै घोषणा पत्र जारि गर्ने बताउनु भएको छ ।

यस्तै भ्रष्टाचारमुक्त बान्नीगढी निर्माणका लागी समृद्ध जयगढ गन्तव्य अभियाले अन्य रचनात्मक क्रियाकलापको निरन्तरता दिने समेत पाण्डेले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

भिडियो सहित :-


क्याटेगोरी : अन्य, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस