प्रहरीचौकी कब्जा प्रयासः छेस्काममा भएको के हो ?

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काममा रहेको प्रहरीचौकी कब्जा गर्ने नेत्रविक्रम चन्द नेतृत्वको समूहको प्रयासपछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्रहरी मुख्यालयले जिल्लाबाट आएको सूचनाको गम्भीरतालाई मध्यनजर गर्दैै थप मद्दतका लागि हेलिकोप्टरमार्फत् टोली पठाएको हो ।
सशस्त्र प्रहरीले पनि विराटनगर र काठमाडौंबाट टोली त्यसतर्फ पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिकराम शर्मासमेत घटनास्थल गएका छन् ।
आइतबार राति करिब १२ बजेको समयमा २५/३० जनाको समूहमा चन्दका हतियारधारी कार्यकर्ता प्रहरीचौकी पुगेका थिए ।
तर, त्यसअघि नै त्यहाँ कार्यरत् प्रहरी हतियारसहित बाहिर सुरक्षित स्थानतर्फ गएकाले कब्जाको रणनीति असफल भएको स्थानीय स्रोतले जनाएको छ ।
चन्दका कार्यकर्ता कब्जाका लागि आउँदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत् सातजना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएका थिए ।
प्रहरी र चन्दका कार्यकर्ताबीच भेट नभएपनि राति १२ देखि सोमबार बिहान ३ बजेसम्म चन्दका कार्यकर्ता चौकी क्षेत्रमै रहेको बताइएको छ ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले भने बाहिर आएजस्तो घटना नभएको भन्दै चन्द समूहको गतिविधि केही बढेको बताए ।
‘जिल्लाको त्यस क्षेत्रमा पछिल्लो समय ‘विप्लव’को गतिविधि बढेको भने हो । त्यसलाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको छ’–उनले भने ।
प्रदेश र जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली सोमबार बिहानै हेलिकोप्टरमार्फत् त्यस क्षेत्रमा पुगेका थिए ।
महाकुलुङ क्षेत्रमा केही दिनदेखि विद्युत् नभएका कारण नेपाल टेलिकमद्वारा वितरित सन्चार सेवा अवरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ ।
छेस्काम सदरमुकाम सल्लेरीदेखि करिब २५ कोस टाढा (करिब दुई दिनको पैदलदूरी) रहेको विकट गाउँ हो । संखुवासभा र भोजपुरसित छेस्कामको सिमाना जोडिएको छ ।
आइतबार दिउँसो स्थानीयले गाउँमा हतियारधारी समूह छिरेको सूचना जिल्लाका सुरक्षा अधिकारीलाई दिएको बताइएको छ ।
आइतबार राति आक्रमणको डरले चौकी छाडेर हिँडेका प्रहरी अधिकारीहरु बिहान पुनः चौकीमा फर्कंदा आक्रमणको कुनै निशाना नभएको तथा चौकीभित्र कागजपत्रलगायत सबै दस्तावेज पनि जस्ताको तस्तै पाइएको बताइएको छ ।
क्याटेगोरी : राजनीति


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस