महरा प्रकरणमा एक दिन नबित्दै नयाँ मोड

आफूलाई सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको भनेर आरोप लगाएकी संसद सचिवालयकी एक कर्मचारीले एक दिन नबित्दै बयान फेरेकी छिन् ।
सोमबार साँझ एक सञ्चारमाध्यममा अन्तरवार्ता दिँदै पीडित भनिएकी महिला कर्मचारीले सभामुख महरा आफ्नो कोठामा आएर आफूलाई दुर्व्यवहार गरेको बताएकी थिइन् । तर मंगलबार फेरि अर्को एउटा सञ्चारमाध्यममा पीडित भनिएकी महिलाले अन्तरवार्ता दिँदै आफ्नो कोठामा सभामुख नआएको र कुनै दुर्व्यवहार पनि नभएको भन्दै बयान फेरेकी हुन् ।
नागरिक खबरलाई अन्तर्वार्ता दिएकी उनले आइतबार साँझ आफ्नो कोठामा कोही नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको स्पष्ट पारेकी छिन् । उनले भनेकी छिन्, ‘त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद सचिवालयमा कहिलेकाहीँ बीपी चेक गराउँदा भेट हुने हो । अहिले त धेरै भयो भेट पनि नभएको ।’
पीडित भनिएकी महिलाले सभामुखबाट राजीनामा दिइसकेका कृष्णबहादुर महरा आफ्नो बुवासरह भएको र आफूले रिसको झोँकमा आरोप लगाएको बताएकी छिन् । उनले उल्टो सोमबार प्रकाशित समाचार पत्रकारले बंग्याएर लेखेको आरोप लगाएकी छिन्, ‘मैले रिस उठ्दा भनेका के(के कुरालाई पत्रकारले बंग्याएर लेखिदिएछन् ।’
सोमबार सार्वजनिक भएको पीडित भनिएकी महिलाको अन्तर्वार्ताका कारण सभामुख पदबाट महराले राजीनामा दिइसकेका छन् । सभामुख पदमा रहँदा महिलामाथि दुर्व्यवहार गर्ने भन्दै चर्को आलोचना भएपछि महराले मंगलबार बिहान राजीनामा दिएका हुन् ।
सभामुखमाथि गम्भीर आरोप लागेपछि आकस्मिक रुपमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक बसेर सभामुख पदबाट महरालाई राजीनामा दिन सुझाव नै दिनुपरेको थियो ।
अघिल्लो दिन आकस्मिक रुपमा आरोप लगाएकी ती महिलाले भोलिपल्टै बयान फेर्नुलाई धेरैले अचम्म मानेका छन् । सामाजिक सञ्जालमा कतिपयले दबाबका कारण महिलालाई बयान फेर्न बाध्य पारिएको भन्दै निष्पक्ष छानबिन हुनु पर्ने माग गरेका छन् ।
महिलाले बयान फेरेर सभामुख आफ्नो कोठामा नै नआएको बताए पनि यसमा प्रहरीले अनुसन्धान गर्ने पाटो धेरै हुनसक्छ । पहिलो सीसीटीभी फुटेजका आधारमा सभामुख महरा पीडित भनिएकी महिलाको कोठामा गएको हो कि होइन भन्ने अनुसन्धान गर्न सक्छ ।
बानेश्वर क्षेत्रमा नै पीडित भनिएकी महिलाको कोठा रहेकाले त्यस क्षेत्रमा रहेको सीसीटीभी फुटेजमा पक्कै पनि महरा गएको वा नगएको भन्ने प्रहरीले हेर्न सक्छ ।
पीडित भनिएकी महिलाले प्रहरीमा खबर गरेको र प्रहरी पनि त्यही दिन घरको खानतलासी गर्न गएको भनेकाले कतिबेला फोन गरेको हो त्यसको पनि कल डिटेल निकाल्न सक्छ ।
अर्को, सभामुख महरासँग उनको टेलिफोन सम्पर्क कतिको हुन्छ त्यसबारेमा पनि प्रहरीले छानबिन गर्न सक्छ । सोमबार प्रकाशित समाचारपछि ती महिलासँग क(कसले सम्पर्क गरेका छन् तिनीहरुलाई पनि अनुसन्धानको दायरामा समेट्न सकिन्छ । यसबाट महरा वा अन्य कसैले दबाब दिएको हो वा होइन पत्ता लगाउन सकिन्छ ।
प्रहरीले मंगलबार दिउँसो पीडित भनिएकी महिलाको कोठाबाट मदिराको बोतल, भाँचिएको चश्मा तथा अन्य प्रमाणहरु संकलन गरिसकेकाले त्यसबाट पनि वास्तविकता पत्ता लगाउन सक्ने अवस्था रहन्छ ।
पीडित भनिएकी महिलाले अहिले स्वास्थ्य परीक्षण गर्न नमानेको भनेकाले पनि केही शंका गर्ने अवस्था छ । त्यसैले प्रहरीले यतातिर पनि ध्यान दिनु आवश्यक छ ।
योसँगै अहिले बयान फेरेकाले प्रहरीले अन्तिम कडीको रुपमा महिलालाई ‘लाई डिटेक्टर’ मार्फत बयान लिनुपर्छ । एउटी महिलाको बयानकै आधारमा देशको राजनीति उथलपुथल भएकाले अब यसबारेमा प्रहरीले सत्यतथ्य बाहिर ल्याउनुपर्छ । दोषी जो भए पनि उसलाई कानुनी कारबाही गर्नैपर्छ ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस