Techie IT

सरकार र थारु कल्याणकारी सभाबीचको पहिलो चरणको वार्ता सकारात्मक


सरकारी वार्ता टोली र थारू कल्याणकारी सभाबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।

गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित वार्ता टोलीले मंगलबार सिंहदरबारमा थारु कल्याणकारी सभासँग वार्ता गरेको हो ।

सरकारी वार्ता टोलीले थारु कल्याणकारी सभासँगको पहिलो चरणको वार्ता सौहार्दपूर्ण र सकारात्मक दिशातर्फ उन्मुख भएको जनाएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताउनुभयो । उहाँले थारु कल्याणकारी सभासँग अर्को चरणको वार्ता छिट्टै बस्ने सहमति भएको जानकारी दिनुभयो ।

‘नेपाल सरकार र थारू कल्याणकारी सभाको वार्ता टोलीबीच आज (मंगलबार) पहिलो चरणको वार्ता सिंहदरबारमा सम्पन्न भयो,’ डा. भट्टराईले भन्नुभयो, ‘वार्ता सौहार्दपूर्ण रह्यो र सकारात्मक दिशाउन्मुख रहेको छ । अर्को चरणको वार्तामा छिट्टै बस्ने सहमति पनि भएको छ ।’

सरकारले गत सोमबार थारू कल्याणकारी सभा, थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्न गृहमन्त्री थापाको संयोजकत्वमा समिति गठन गृहमन्त्री थापाको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य रहनुभएको छ ।

यसअघि गत बिहीबार गृहमन्त्री थापा संघर्ष समितिको आन्दोलनको कार्यक्रममा आफँै सहभागी हुनुभएको थियो । धर्ना स्थलमा पुगेर उहाँले संघर्ष समितिका माग सम्बोधनका लागि सरकारले वार्ता टोली गठन गर्ने बताउनुभएको थियो । रेशम चौधरीको रिहाइको माग गर्दै थारु कल्याणकारीसभा, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति माइतीघरमा धर्ना दिँदै आएको छ । संघर्ष समिति टीकापुर घटना राजनीतिक प्रकृतिको भएकाले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशम चौधरी, लक्ष्मण थारुलगायत माथि लगाइएको मुद्दा फिर्ता हुनुपर्नेलगायतका माग राखी केही दिनदेखि माइतीघर मण्डलामा धर्नामा दिइरहेको छ ।

यसअघि गत शुक्रबार टीकापुर घटनामा संलग्नहरुका परिवार र अर्धभूमिगत रहेका अभियुक्तहरुले मुख्य योजनाकार रेशम चौधरीको रिहाइका लागि सरकारसँग वार्ता गर्न ६ सदस्यीय वार्ता टोली गठन गरेका थिए । उनीहरुले कैलालीको कैलारी गाउँपालिकामा पर्ने हसुलियामा पत्रकार सम्मेलन गरेर चौधरीकै संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् । वार्ता टोलीमा अर्भभूमिगत रहेका लक्ष्मण थारुसँगै रामप्रसाद चौधरी, चुनीराम चौधरी, बिना चौधरी र यमुना चौधरी सदस्य रहनुभएको छ । २०७२ सालमा भदौ ७ गते टीकापुरमा ‘थरुहट आन्दोलन’ का क्रममा भएको हिंसात्मक घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जनाको मृत्यु भएको थियो । उक्त घटनाका मुख्य योजनाकार रेशम अहिले डिल्लीबजार कारागारमा हुनुहुन्छ । उहाँलाई जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते जन्मकैदको फैसला सुनाएको थियो ।

मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम उनलाई जन्मकैद ठहर गरेको थियो । जिल्ला अदालतको उक्त आदेशविरुद्ध रेशम उच्च अदालत जानुभएको थियो । तर, उच्च अदालत दिपायलले पनि गत पुस २ मा जिल्ला अदालत कैलालीको फैसला सदर गर्दै रेशमलाई जन्मकैदको फैसला सुनाएको थियो । उहाँ टीकापुर घटनापछि फरार हुनुभएको थियो । रेशम गत प्रतिनिधिसभ निर्वाचनमा कैलाली–१ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट निर्वाचित हुनुभएको थियो । रेशम चौधरीलाई थुनामा रहेको समयमा २०७५ पुस १९ गते सांसदको शपथ ग्रहण गराइएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!