गण्डकी प्रदेशमा माओवादी मन्त्रीहरुले राजीनामा दिने

गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।
बुधबार विहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक सांसदले जानकारी दिए ।
माओवादी केन्द्रबाट मन्त्री बन्नुभएको आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले अब राजीनामा दिनुहुने छ । यद्यपी प्रदेश सरकारलाई दिएको समर्थन भने फिर्ता लिने नलिने भन्ने विषयमा निर्णय भइसकेको छैन ।
गण्डकी प्रदेश सभाको बैठक बुधबार १ बजे बस्दैछ । २०७४ फागुन ४ देखि दुवैजना मन्त्री रहँदै आउनु भएको थियो ।
गण्डकी प्रदेश सरकार एमाले र माओवादी केन्द्रको संयुक्त सरकार हो । गण्डकी प्रदेश सभामा ६० जना सांसद छन्। जसमा एमालेको २८, कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्।