Techie IT

पूर्व पदाधिकारीले नै पाएनन् क्रियाशील सदस्यता, कांग्रेसमा डनतन्त्र हावी


एक समय नेपाली कांग्रेसमा रजगज गर्नु भएका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीले आफ्नो क्रियाशील सदस्यता नविकरण नभएको गुनासो गरिरहनुभएको छ ।

सर्लाहीमा क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै सांसद् अमरेश कुमार सिंहले प्रतिनिधि सभा सदस्य पदबाटै राजीनामा दिनुभएको छ भने पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवका छोरा डाक्टर चन्द्रमोहन यादव कांग्रेस केन्द्रीय कार्यालयमा धर्नामा हुनुहुन्छ । क्रियाशील सदस्यता वितरणमा देखिएको बेथिति नेताको स्वार्थ टकरावको झल्को हो ।

आजीवन चारतारे झण्डा र रुख चुनाव चिन्ह भनेर जीवनको उर्जाशील समय राजनीतिमा बिताएकाहरू पार्टीबाट रित्तो हात हुनुपर्ने अवस्था सिर्जना हुँदैछ । क्रियाशील सदस्यता वितरण आफूअनुकुल बनाउन सके महाधिवेशन जित्ने मात्र होइन नेतृत्व र पार्टी नै कब्जा गर्न सकिने दाउ नेतृत्वमा देखिन्छ । त्यसैको विरोधमा पूर्व सांसदहरूसमेत अनसन बस्नुपरेको छ ।

जिल्ला छानविन समितिले क्रियाशील सदस्यता माथि परेको उजुरीमा छानविन नगर्ने र केन्द्रीय छानविन समितिले समय छैन भनेर अध्ययन नै नगरिए सही निष्कर्षमा कसरी पुग्न नसकिने धर्नामा बसेको नेताहरू बताउँछन् । जीवनभर पार्टीमा लागेका नेता तथा कार्यकर्तालाई बाइपास गरेर पुँजीपतिको हातमा पार्टी बुझाए विद्रोह गर्ने उनीहरूको चेतावनी छ ।

ललितपुरमा रहेको कांग्रेस केन्द्रीय कार्यालय क्रियाशील सदस्यता पीडितहरूको न्याय माग्ने मञ्च बनेको छ । जहाँ काउन्टर दिन उनीहरूले धर्ना सुरु गरेका छन् । १० लाख क्रियाशील पुर्‍याउने अनि महाधिवेशन गराउने नाममा आन्तरिक लोकतन्त्र धरापमा पर्दा नेतृत्वले ध्यान दिन जरुरी ठानेको छैन । आजित भएर नेताहरू राजीनामा दिएर धर्नामा बस्ने वातावरण बनेको छ ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाज

चन्द रेडियो बान्नीगढीमा कार्यरत छन् । करिब एक दशकदेखि पत्रकारिता गरिरहेका चन्दले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस