Techie IT

कांग्रेस महाधिवेशन आजदेखि प्रारम्भ, २१ जिल्लामा अझै अनिश्चित


सत्तारूढ नेपाली कांग्रेसको १४औं महाधिवेशनको औपचारिक सुरुवात आज (शुक्रबार) बाट हुने भएको छ ।

डेढ वर्ष ढिलो गरी साढे पाँच वर्षपछि हुन लागेको कांग्रेसको महाधिवेशन गाउँरनगर वडा अधिवेशन आजबाट सुरु हुने भएको हो । वडा अधिवेशनबाट सुरु भएर सात चरणमा हुने महाधिवेशनको प्रक्रिया केन्द्रीय पदाधिकारीको निर्वाचनसँगै सम्पन्न हुनेछ । केन्द्रीय महाधिवेशन मंसिरको ९ देखि १३ गतेसम्म हुनेछ ।

क्रियाशील सदस्यताको विवरण टुंगो लागेका ५६ जिल्लामा समयमै गाउँ र नगर अधिवेशन सुरु गर्न केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि परिचालन गरेको छ । कांग्रेसले पछिल्लो समयसम्म ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कतिपय गाउँ र नगर वडामा सर्वसम्मत प्रतिनिधिहरूको चयनका लागि सहमति बनिसकेको र कतिपयमा निर्वाचनका लागि तयारी पूरा भएको बताउनुभयो । क्रियाशील सदस्यता टुंगो लागेको ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन सुरु हुने उहाँले बताउनुभयो ।

अझै २१ जिल्लाका क्रियाशीलको विवरण सार्वजनिक भएको छैन । विवादका कारण ती जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक पनि भएको छैन । वडा अधिवेशनको मितिसम्म पनि क्रियाशीलको विवाद नटुंगिएपछि ती जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ ।

क्रियाशील सदस्यता विवरण सार्वजनिक नभएका र अन्य व्यवस्थापन बाँकी जिल्लामा यही भदौ २३ भित्रै अधिवेशन सुरु गर्ने कांग्रेसको तयारी छ । क्रियाशीलकै कारण कांग्रेसले यसअघि तीन पटकसम्म केन्द्रीय महाधिवेशन नै स्थगित गरेको थियो ।

सभापतिका आकांक्षीलाई दायाँबायाँ राखेर पौडेलले भन्नुभयो स् साझा उम्मेदवार उठाउँछौँ

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने घोषणा गरेको छ । वडा अधिवेशन सुरु हुनुभन्दा एकदिन अघिसम्म पनि सभापतिका आकांक्षीहरूबीच सहमति हुन नसकेपछि बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल पक्षले महाधिवेशनमा साझा उम्मेदवारी दिने घोषणा गरेको हो ।

वरिष्ठ नेता पौडेलले आफ्नो समूहबाट सभापतिमा एक जनाले संस्थागत उम्मेदवारी दिने बताउनुभयो । उहाँले आफ्नो समूहले एकता अधिवेशनको अन्तिमसम्म कायम रहने बताउनुभयो । महाधिवेशनमा आफ्नो पक्षका नेताहरूले दिइने उम्मेदवारीका अन्य पदका बारेमा छलफल जारी रहेको जिकिर उहाँको छ ।

‘हामी चारजनामध्ये एकजनाले मात्रै उम्मेदवारी दिन्छौँ । हाम्रो बीचमा खटपट छैन,’ वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘एकताबद्ध भएर जान्छौँ । पार्टी र लोकतन्त्र बचाउनका लागि हामी एक भएर अघि बढ्छौँ । देशभरका साथीहरूलाई आश्वस्त पार्न चाहन्छौँ ।

हामीले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गछौँ । हाम्रो एकता कसैले कमजोर पार्न सक्ने छैन ।’ उम्मेदवारबारे भने केही समयपछि निर्णय हुने उहाँले बताउनुभयो । यस्तै, सञ्चारकर्मीले सोधेको ‘सभापतिबाट पछि हट्नुपर्ने भयो भने तपाईं हट्नुहुन्छ त रु’ भन्ने प्रश्नमा उहाँले रातो मुख पार्दै ‘हट्नै परे सबै हट्छौँ नि’, भन्नुभयो ।

नेपाली समाजलाई लोकतान्त्रीकरण गर्न आवश्यक रहेको भन्दै उहाँले जनताको भरोसाको पार्टी बनाउनुपर्ने आवश्यकता रहेको औँल्याउनुभयोे । पौडेलले क्रियाशील सदस्यहरूको विवाद कायमै हुँदा निष्ठावान् कार्यकर्ताहरू पीडित भएको भन्दै पार्टीभित्र सुधारको खाँचो रहेको बताउनुभयो । ढिलै भए पनि वडाबाट चुनावको सुरुवात गरेर पार्टी अधिवेशनमा अघि बढेको उहाँको भनाइ छ ।

पौडेलले मात्रै बोलेको पत्रकार सम्मेलनमा महामन्त्री शशांक, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू डा। रामशरण महत, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, गगन थापा, सरिता प्रसाईंलगायत सहभागी हुनुहुन्थ्यो ।

सरकार सञ्चालनबारे असन्तुष्टि

महाधिवेशनमा संस्थापनइतर समूह एक रहेको सन्देश दिन आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले आफ्नै पार्टी नेतृत्वको सरकारमाथि असन्तुष्टि जनाउनुभयो । आफ्नो पार्टी नेतृत्वको सरकारसँग जनताको आशा रहेको भन्दै उहाँले जुन उत्साह दिनुपर्ने थियो, त्यो दिन नसकिरहेको टिप्पणी गर्नुभयो ।

उहाँले सत्ता परिवर्तन सार्थकता शिद्ध गर्नुपर्ने कार्यभार कांग्रेसलाई रहेको बताउनुभयो । ‘दुईतिहाइको कम्युनिष्ट सरकार ढलेपछि हाम्रो पार्टीबाट जनतालाई आशा थियो,’ पौडेलले भन्नुभयो, ‘सरकार जति सबल, सक्षम हुनुपथ्र्यो, त्यति भएन ।

नयाँ किसिमले उत्साह दिनुपर्ने थियो, त्यो नसकिरहेको महसुस गरेका छौं ।’ देशको संविधान जस्तै पार्टीको विधान बनेको र त्यसलाई कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।

सभापतिमा लड्ने गोपालमान श्रेष्ठको घोषणा

नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले आगामी महाधिवेशनमा सभापति पदमा लड्ने घोषणा गर्नुभएको छ । बिहीबार गृहजिल्ला स्याङ्जा पुगेर श्रेष्ठले औपचारिक रूपमा १४औं महाधिवेशनमा सभापति लड्ने घोषणा गर्नुभएको हो । पार्टीभित्रका गुट(उपगुटको अन्त्य गर्दै आफू सभापति बन्ने उहाँले दाबी गर्नुभयो ।

‘सभापति उठ्ने तयारी पहिलेदेखि नै गरेको थिएँ, स्याङ्जा आएर घोषणा नै गरेँ,’ उहाँले भन्नुभयो, ‘मलाई देशभरका साथीहरूको सहयोग छ । पार्टीभित्रका गुट(उपगुटको अन्त्य गर्दै अनुशासित र सबै वर्ग, समुदायको स्वीकार्य सभापति बन्नेछ । कांग्रेसको एक इमान्दार कार्यकर्ता र विगत ६ दशकदेखि संगठनमा गरेको योगदानको मूल्यांकन हुनेमा म विश्वस्त छु ।’

१४औं महाधिवेशनमा सभापतिमा दोहोरिने वर्तमान सभापतिले पनि इच्छा व्यक्त गरिसक्नु भएको छ भने उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कल्याण गुरुङले पनि सभापतिमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । संस्थापनइतर समूहबाट एक मात्रै साझा उम्मेदवार छान्ने कसरतमा रहेको पौडेल समूहले भने उम्मेदवार छान्न सकिरहेको छैन ।

गगन थापा पौडेल समूहमा

महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएका युवा नेता गगन थापा अब रामचन्द्र पौडेल समूहमा खुल्नुभएको छ । उहाँ बिहीबार कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा देखिनुभएको हो ।

यसअघि १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएका थापा सो समूह छाडेर पौडेल समूहमा देखिनुभएको हो । स्रोतका अनुसार थापा संस्थापनइतर समूहबाट महामन्त्री बन्ने तय भएको छ ।

त्यही सल्लाह भएर थापाले एकल महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको हो । थापाले भदौ १४ गते सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित कार्यक्रममा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गर्नुभएको थियो ।

गत महाधिवेशनमा उहाँ डा। शशांक कोइराला र अर्जुननरसिंह केसीसँगै महामन्त्रीमा उठनुभएको थियो । केसी शेरबहादुर देउवा पक्षबाट महामन्त्रीमा उठनुभएको थियो भने अहिले पौडेल समूहमा रहनुभएको छ ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस