Techie IT

अहिले मन्त्रिपरिषद् गठनको विषयमा चुइँक्क बोल्न मिल्दैन : नेता नेपाल


नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २३ गतेअघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको बताउनुभएको छ ।

सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उहाँले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २२÷२३ गतेसम्म त मन्त्रिपरिषद् विस्तारका बारेमा कसैले चुइँक्क पनि नबोल्ने बताउनुभयो ।

‘मन्त्रिपरिषद् विस्तारका विषयमा २२/२३ गतेसम्म त कसैले पनि चुइँक्क बोल्दैन । त्यस बारेमा अहिले केही चर्चा हुँदैछ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं,’ नेपालले भन्नुभयो ।

अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेशसभाका सांसदसहितका जनप्रतिनिधिहरूलाई आह्वान गर्नुभयो । केपी ओली र उहाँका मान्छेले १० बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उहाँले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकता नगर्ने पनि दोहोर्‍याउनुभयो । उहाँले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलिन हुने भ्रम नछर्न पनि सचेत गराउनुभयो । ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।

हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो,’ नेपालले भन्नुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्न सफल हुने दाबीसमेत गर्नुभयो ।

यसैबीच, नेकपा ९एकीकृत समाजवादी० पार्टीको राष्ट्रियसभा संसदीय दलका नेता बेदुराम भुसालले पनि बिहीबार नै सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

नेपाललाई प्रदेशका ४६ सांसद र १३ जिल्ला अध्यक्षको साथ

माधवकुमार नेपालको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीलाई एमालेका ४६ प्रदेश सांसदले साथ दिएका छन् । बिहीबार प्रदेश २ का १० जना सांसदले एकीकृत समाजवादीका पक्षमा सनाखत गरेसँगै प्रदेश सांसदहरूको संख्या ४६ पुगेको हो ।

प्रदेश १ मा १० जनाले नयाँ पार्टीमा सनाखत गरेका छन् । बागमती प्रदेशमा १२, लुम्बिनीमा एक र कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म १० गरी ४६ सांसदले एकीकृत समाजवादी पार्टी रोजेका हुन् । गण्डकी प्रदेशसभामा रहेका एमाले सांसदले विभाजनलाई साथ दिएका छैनन् ।

यसैगरी, एकीकृत समाजवादीलाई ७७ जिल्लामध्ये १३ जिल्लाका अध्यक्षले साथ दिएका छन् । जसमा प्रदेश १ मा संखुवासभाका अध्यक्ष हेमराज घिमिरेले एमाले छाड्नुभएको छ ।

यस्तै, प्रदेश २ मा सिराहका अध्यक्ष प्रमोद यादव, सप्तरीका गोविन्द न्यौपाने रौतहटका कमल राय यादव एकीकृत समाजवादीमा खुल्नुभएको छ । बागमती प्रदेशमा काभ्रेका टोकबहादुर वाइबा र मकवानपुर अध्यक्ष मुनु सिग्देलले एमाले परित्याग गर्नुभएको छ । गण्डकीका नौ जिल्ला अध्यक्ष एमालेमै छन् ।

केन्द्रमा एकीकृत समाजवादीको पक्षमा ५५ जना केन्द्रीय सदस्य र ३० सांसदले सनाखत गरेका थिए । सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको समर्थन पाएमा दल विभाजन हुने अध्यादेश ल्याएपछि एमाले छाडेर नेपालको अध्यक्षतामा एकीकृत समाजवादी गठन भएको थियो । एकीकृत समाजवादीले गता साता दल दर्ताको प्रमाणपत्र पाएको थियो ।

 


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस