Techie IT

दार्चुला घटना : नेपालले बल्ल भारतलाई औपचारिक कुटनीतिक पत्र पठायो, दोषीलाई कारबाही गर्न माग


चौतर्फी दबाब बढेपछि अन्तत नेपालले दार्चुला घटनाका विषयमा भारतलाई औपचारिक कुटनीतिक पत्र पठाएर ध्यानाकर्षण गराएको छ ।

गृह मन्त्रालयको छानबिनका आधारमा परराष्ट्र मन्त्रालयले भारतलाई कुटनीतिक पत्र पठाएको हो ।

पत्रमा घटनामा संलग्न भारतीय सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन र महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीका परिवारलाई उचित राहत दिन भनिएको छ ।

गएको साउन १५ गते महाकाली नदीको तुइनमा नेपालबाट भारततर्फ जाँदै गर्दा दार्चुलाका जयसिंह धामी तुइनबाट खसेर बेपत्ता हुनु भएको थियो ।

घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले साउन १७ गते समिति बनाएको थियो । छानबिनका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को घटनामा संलग्नता भएको प्रत्यक्षदर्शीले बताएका थिए । तर, छानबिन प्रतिवेदन आइसकेपछि पनि भारतसमक्ष औपचारिक रुपमा पत्र पठाउन आनाकानी भइरहेको थियो ।

यस्तै, नेपालले दार्चुला क्षेत्रको नेपाली आकाशमा अनुमति नलिकन हेलिकोप्टर उडाएको विषयमा पनि भारतलाई पत्र पठाएको छ ।

विना अनुमति नेपाली आकाशमा हेलिकप्टर उडाएकोमा गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि दोहोरिन नदिन पत्रमार्फत भारतको ध्यानाकर्षण गराइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : राजनीति, समाचार, हेडलाईन


प्रतिक्रिया दिनुहोस