Techie IT

पार्टी फुट गराउनु गलत : सुरेन्द्र पाण्डे


नेपाल कम्युनिस्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनु गलत भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज बुधवार आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घर्षको इतिहास बोकेको पार्टी मजबुत बनाएर लैजानुको साटो फुटको बाटो रोज्नु कसैका लागि पनि हित नहुने बताउनुभयो ।

पार्टीमा हुने वैचारिक मतभेद आपसी छलफल एवम् अन्तरक्रियाबाट समाधान गर्न पार्टीभित्रै अन्तरसङ्घर्ष गर्नुपर्ने अवस्थामा समग्र कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने गरी फुटका अवस्थामा लगिएको उहाँको भनाइ छ ।

पार्टी एकता कार्यदलका सदस्यसमेत रहनुभएका नेता पाण्डेले भन्नुभयो, ‘पार्टी एकताका सम्बन्धमा माधव नेपाल समूहले नै अघि सारेका ६ बुँदालाई नै समेट्दै १० बुँदे खाका तयार गरिएको हो जुन बुँदामा माओवादी केन्द्रबाट एमालेमा आएका नेतारकार्यकर्तालाई पनि समेटिएको छ । दश बुँदेलाई पनि आत्मसात् गर्न नसकी माधव नेपाल समूहले पार्टी फुटको अवस्थामा पुर्‍याएको छ ।

पार्टीमा समयसापेक्ष रूपमा युवा जनशक्ति आउनुपर्ने आवश्यकता औल्याउँदै उहाँले समयको मागलाई आत्मसात् गर्नसक्ने नेतृत्व वर्तमानको आवश्यकता भएको बताउनुभयो ।

एकमना सरकारले समेत राज्यलाई सही निकास दिन अप्ठ्यारो परेको नेपालको वर्तमान अवस्थामा विभिन्न दल मिलेर बनेको गठबन्धन सरकारले समस्याको समाधान गर्न नसक्ने उहाँको भनाइ छ ।

एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, ‘एमसीसीको विषय यसअघि नै संसदमा छलफल हुनुपर्नेमा जोड दिँदै उहाँले यसका गतल र सही पक्षबारे संसदमै छिनोफानो गरी निष्कर्ष निकालेको भए अहिलेको अवस्था सिर्जना हुने थिएन ।

प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजाराम पौडेलले देशको समसामयिक गतिविधि एवम् यस क्षेत्रको पत्रकारिताको अवस्थाबारेमा जानकारी गराउनुभयो ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस