Techie IT

एमसीसीको विषयमा एमालेमा कुनै मतभेद छैन : विष्णु पौडेल


नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताउनुभएको छ ।

सरकारले एमसीसीको प्रस्ताव संसदमा पेस गर्नासाथ एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उहाँले बताउनुभयो । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव पौडेलले एमालेले देशको हितलाई केन्द्रमा राखेर र नागरिकको चाहनाअनुसार निर्णय गर्ने बताउनुभयो ।

एमसीसीको विषयमा सत्ता गठबन्धनका सहभागी दल नै एकमत नरहेको उहाँको भनाइ थियो । एमाले विभाजन नभइ सर्पले झैँ काँचुली मात्र फेरेर पार्टीमा नयाँ जीवनको सुरुवात भएको पौडेलले सुनाउनुभयो ।

पार्टी विभाजन विचार र दर्शनका आधारमा नभइ लोभ तथा अवसरका लागि भएको पौडेलले आरोप लगाउनुभयो । सरकारले एमाले विभाजनका लागि ल्याएको अध्यादेश कुनै पनि हालतमा संसद्बाट पारित हुन नसक्ने उहाँको भनाइ थियो ।

पार्टीको लुम्बिनी प्रदेशको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले लुम्बिनी प्रदेशमा पार्टी विभाजनको कुनै असर नपरेको बताउनुभयो ।

प्रदेश कमिटी बैठकले पार्टी एकीकरणका लागि कार्यदलले तयार गरेको १० बुँदे सम्झौतालाई सकारात्मक रूपमा लिएर रचनात्मक रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस