Techie IT

संसदमा बाँकी रहेका अध्यादेश पास गराउन पहल गर्ने माओवादी केन्द्रको निर्णय


सत्ता साझेदार नेकपा माओवादी केन्द्रले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेश पारित गर्नुपर्नेमा जोड दिएको छ ।

नेकपा माओवादी केन्द्रको सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा आज बुधवार बसेको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतिमा संसद्लाई निर्वाध रूपमा चल्न दिँदै बजेटलगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरू पास गराउन पहल गर्ने निर्णय गरेको हो ।

तोकिएको समयभित्र अध्यादेशहरू पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अध्यादेशहरूलाई अगाडि बढाउनुपर्छ । र त्यसलाई तोकिएकै समयमा, ३० गते त्यसको समय सकिन्छ । ३० गतेकै समय अवधिभरमा त्यसलाई पारित गराउन पहल गर्नुपर्छ ।

यद्यपि नियमावलीको समय फ्रेमको हिसाबले हामीलाई समयको समस्या त छ तर पनि सबैको बीचमा सहमति बनाएर फास्ट ट्र्याकबाट भए पनि यसलाई अगाडि बढाउन पहल गर्नुपर्छ भन्ने कुरा भएको छ ।’

यस अधिवेशनमा अधिकतम रूपमा विधेयकहरू पास गर्न पहल गर्ने निर्णय माओवादी केन्द्रको छ । गठबन्धनभित्रै सहमति नजुटेको भन्दै प्रमुख सचेतक गुरुङले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने बताउनुभयो ।

एमसीसी राष्ट्रिय सहमति गर्नुपर्ने मुद्दा भएकाले त्यससम्बन्धी प्रस्ताव संसदमा अगाडि नबढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस