Techie IT

राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रिय सभामा पेस


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच राष्ट्रिय सभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश–२०७८ पेस गरिएको छ ।

आज शुक्रवार बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर अवरोध जनाएका थिए । तर एमाले सांसदहरूको अवरोधकाबीच गृह मन्त्री बालकृष्ण खाणले त्यो अध्यादेश पेस गर्नुभएको हो ।

त्यसै गरी बैठकले संविधान सभा सदस्य जुठबहादुर खड्गी जेबी टुहुरे र अर्का संविधान सभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको छ । जनवादी गायक टुहुरे नेकपा माओवादी केन्द्रबाट संविधान सभा सदस्य हुनुहुन्थ्यो भने सञ्चार उद्यमी शेरचन एमालेबाट संविधान सभा सदस्य सदस्य हुनुभएको थियो ।

यो प्रस्ताव पारित गर्नुअघि एमालेका सांसद देवेन्द्र दाहालले प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सापकोटा, सरकार र निर्वाचन आयोगले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ जना सांसदलाई संरक्षण गरेर पार्टी फुटाउने काम गरेको भन्दै बैठक चल्न नदिने जानकारी गराउनुभएको थियो ।

एमालेले गएको २३ गते बुधवारदेखि सुरु भएको सङ्घीय संसद्को दुवै सदनमा अवरोध गर्दै आएको छ । राष्ट्रिय सभाको अर्को बैठक आउँदो भदौ २८ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस