Techie IT

एमाले अवरोधकाबीच प्रतिनिधि सभा बैठक अघि बढ्यो, आर्थिक अध्यादेश स्वीकृत


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधि सभाको बैठक अगाडि बढेको छ । बैठकमा बहुमतले आर्थिक अध्यादेश स्वीकृत भएको छ ।

अर्थ मन्त्री जनार्दन शर्माले पेस गर्नुभएको प्रस्ताव सभामुख अग्नि सापकोटाले बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको हो ।आजको पहिलो बैठक एमाले सांसदको नाराबाजीका कारण १५ मिनेट स्थगित भएपछि दोस्रो बैठक बसेको थियो ।

एमाले सांसदहरूले अर्थ मन्त्रीको बाटो छेक्न खोजेपछि उहाँ दौडिएर रोस्टममा पुग्नुभएको थियो । पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध र नाराबाजी गर्दै आएको छ ।

सरकारले आजको संसद् बैठकमा चालु वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने तयारी गरेको छ । अस्ति बुधवार नै बजेट अध्यादेश संसदमा पेस गर्ने कार्यसूची भए पनि एमालेको अवरोधका कारण हुन सकेको थिएन ।

अस्ति एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो । यसअघिको सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटका विवादित र अपरिपक्व घोषणाहरू हटाएर न्यूनतम साझा कार्यक्रमअनुसार प्रतिस्थापन विधेयक ल्याइने नेताहरूको भनाइ छ ।

प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी भएपछि चालु बजेटको निकासा रोकिएको छ ।प्रतिस्थापन विधेयक ल्याउन अहिलेको अध्यादेश स्वीकृत हुनुपर्छ । संसदमा अध्यादेश पेस भएको ६० दिनभित्रै प्रतिस्थापन विधेयक ल्याउनुपर्ने व्यवस्था छ । संसदमा बजेट अध्यादेश दर्ता भएको ६० दिन पुग्न अब एक हप्ता मात्रै बाँकी छ ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार


प्रतिक्रिया दिनुहोस