Techie IT

५४ जिल्लामा कांग्रेसको गाउँ/नगर अधिवेशन : १३ मध्ये पाँच जिल्लाको विवाद टुङ्गियाे


नेपाली कांग्रेसले ५४ जिल्लामा गाउँ/नगर अधिवेशन गरेको छ । वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने अधिवेशन हुन सकेको छैन ।

५४ जिल्लामा गाउँ/नगरस्तरीय अधिवेशन सुरु भएको तथा काठमाण्डौ, ललितपुर, सिन्धुपाल्चोक, मोरङलगायतका जिल्लामा असोज १६ गतेसम्म सकिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिले हिजो अधिवेशन हुन नसकेका ठाउँमा सम्बन्धित तहमा खटिएका निर्वाचन अधिकृतलाई नै पुनः मिति तोक्ने र अधिवेशन गराउने अधिकार दिएको छ ।

पहाड र तराईका जिल्लामा दशैँअघिसम्म अधिवेशन गरिसक्ने कार्यतालिका छ । कांग्रेसले हिमाली जिल्लामा दशैँ अगावै जिल्ला तहसम्मकै अधिवेशन गरिसक्ने जनाएको छ । कांग्रेसमा क्रियाशील सदस्यताबारे १३ जिल्लामा विवाद रहेकोमा पाँच जिल्लामा टुङ्ग्याएको छ ।

महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता सूची प्राप्त गरेको निर्वाचन समितिका सदस्य एकराज पोखरेलले बताउनुभएको छ । ती जिल्लामा आज निर्वाचन अधिकृत खटाउने तयारी छ । निर्वाचन समितिले पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीको क्रियाशील सदस्यताको सूची नपाएको जनाएको छ ।

कांग्रेसको महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्म गर्ने कार्यतालिका छ ।


क्याटेगोरी : राजनीति, समाचार


प्रतिक्रिया दिनुहोस