Techie IT

दार्चुलामा फेरी पहिरो, दुई जनाको मृत्यु


जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा घर पुरिएर दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन्।

घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका ५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का वडासदस्य केशवसिह धामीले जानकारी दिए। उनीहरुको घरभित्रबाट शव निकालिएको छ।

यस्तै पहिरोमा परि घर धनी ३५ वर्षीया लक्ष्मी ढोली, ९ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनिया घाईते भएका छन्। तीन जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट जिवितै उद्धार गरेको स्थानीय अनिल खत्रीले जानकारी दिए।

घाईते लक्ष्मी र छोरी सोनियाको थप उपचारको लागि हेलिकप्टर मार्फत उद्धारको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदम बहादुर विष्टले जानकारी दिए। घाईतेहरुको अहिले शंकरपुर स्वास्थ्य चौकी पस्तीमा उपचार भइरहेको छ। बिहान ३ बजेतिर घरमाथिबाट पहिरो गएको हो।

पहिरोमा पुरिएर मृत्यु भएका मिलन र अर्जुन दाजु भाई हुन्। उनीहरु गौरा पर्वको लागि लुगा सिउने कामको लागि शंकरपुर पस्ती आएका हुन्। वडा नम्बर ८ को वडा कार्यालयको फिल्ड र शौचालय भत्किएपछि लक्ष्मीको घर पुरिएको हो। यस्तै पहिरोले शुविरसिह धामी र हरसिह धामीको पसलमा क्षति पुगेको छ।

दिनेश खवरबाट


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस