Techie IT

दार्चुला तुइन प्रकरणः एसएसबीसँगै मालघाट गएको छानबिन टोली फर्कियो


बिहीबार महाकालीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न घटनास्थल गएको टोली फर्किएको छ।

भारतीय बाटो हुँदै गस्कु–मालघाट गएको छानबिन समितिको टोली केहीबेर अघि जिल्ला सदरमुकाम खलंगा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन्।

गृह मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोलीले घटनास्थल पुगेर त्यहाँको वस्तुस्थिति ल्याएर फर्किएको सहायक प्रजिअ जोशीले बताइन्।

समितिले भारतीय एसएसबी र स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिएको बताइएको छ।

 

छानविन समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन्।

छानबिन टोली बाहेक सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुलाका गणपति एसपी नरेन्द्र बम तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टपनि घटनास्थलतर्फ गएको सहायक प्रजिअ जोशीले बताइन्।

टोलीसँगै एसएसबी पनि घटनास्थलमा
उक्त टोलीसँग भारतको डिडीहाटका भारतीय सीमा सुरक्षा बल (एसएसबी|)कमाण्डेन्ट महेन्द्र प्रताप र अन्य दुई जना एसएसबी अधिकारी घटनास्थल गस्कुतर्फ गएको छ।

टोलीले सहजीकरणका लागि भन्दै एसएसबीका अधिकारीलाई लगेको सहायक प्रजिअ जोशीले बताइन्। तर उक्त टोलीमा कुनैपनि पत्रकारलाई भने समावेश गरिएको थिएन।

गत साउन १५ गते व्याँस गाउँपालिका–२ का मालका ३३ वर्षीय जयसिंह धामी सदरमुकाम आउने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए।

भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिँदा घटना घटेको समाचार आएसँगै घटनाबारे अध्ययन गर्न छानबिन समिति दार्चुला पुगेको हो। बेपत्ता धामी अझै फेला परेका छैनन्।


क्याटेगोरी : प्रदेश, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस