Techie IT

पहिरोले पाँच दिनदेखि बन्द बेनी–जोमसोम सडक अझै खुलेन


निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण पाँच दिनदेखि बन्द बेनी–जोमसोम सडक अझै खुल्न सकेको छैन ।

हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डमा वर्षाले पहिरो खसेर बन्द भएको हो। आज बिहान परेको वर्षाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका(३ दानाको गुइँठेमा पहिरो खसेर सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

गुइँठेमा सडकभन्दा माथिबाट खसेको ठूलो पहिरोले सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो । यसअघि बेनी–जोमसोम सडक खण्डको विभिन्न ठाउँमा खसेको पहिरो पन्छाइएको भए पनि आज बिहानको वर्षाका कारण पुनः पहिरो खसेर सडक बन्द भएको हो ।

अहिले पनि पहिरो खसिरहेकाले सडक खुल्न समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो पन्छाउनका लागि मुस्ताङबाट डोजर मगाइएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख एवं प्रहरी सहायक निरीक्षक सूर्य थापाले बताउनुभयो ।

पहिरो ठूलो खसेकाले पन्छाउनका लागि तीनरचार घण्टाको समय लाग्ने देखिएकाले आज बेलुकासम्म बेनी–जोमसोम सडक सञ्चालनमा आउने सक्ने सहायक प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

वर्षाका कारण सडकभन्दा माथिबाट खसेको ढुङ्गा, माटो र गेगरसहितको पहिरोले पटक(पटक बेनी–जोमसोम सडक बन्द हुँदै आएको छ । लगातारको वर्षाले भू–स्खलन भइ सडक खण्डको विभिन्न ठाउँमा खसेको पहिरोले बेनी–जोमसोम सडकमा सास्ती हुने गरेको छ ।

बेनी–जोमसोम सडक खण्डमा कहिले वर्षाका कारण पहिरो र कहिले सुख्खा पहिरोले अवरोध पुर्याउँदा समस्या हुने गरेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका(१ बेगखोला, २ बैंसरी, ३ राहुघाट, अन्नपूर्ण २ नैनीबगर, ३ दानाको गुइँठे, जलथले, रुप्सेखोला, म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीर तथा घोप्टेभीर क्षेत्र पहिरोको उच्च जोखिममा पर्दछन् ।

उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो सडकमार्गको रुपमा रहेको कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणाधीन अवस्थामा छ । आयोजनाको म्याग्दी र मुस्ताङ क्षेत्रमा विभिन्न ४ वटा प्याकेजमा सडक स्तरोन्नतिको काम भइरहेको छ ।

राष्ट्रिय महत्त्व राख्ने यस सडकलाई गण्डकी प्रदेशको लाइफलाइनका रुपमा मानिएको छ । निर्माणाधीन यो सडक खण्डमा ११ मिटरको चौडाइमा सडक बनाउँदा पहिरोको जोखिम बढेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।

यसैबीच पश्चिम म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक भने पूर्ण रुपमा सञ्चालनमा आएको छ । यसैगरी पहिरोका कारण बन्द भएको बेनी–बाग्लुुङ सडक खण्डमा पनि यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस