Techie IT

तीन जना कार्यालय सहयोगीको भरमा जलेश्वरको तटबन्ध कार्यालय


महोत्तरीको जलेश्वरमा रहेको जनताको तटबन्ध फिल्ड कार्यालय–२ कर्मचारीविहीन बनेको छ ।

कर्मचारीको अभावमा कार्यालयको काम कारबाही प्रभावित भएको छ । कार्यालयमा प्रमुख, तीन इन्जिनियर, तीन सब इन्जिनियर, एक लेखापाल र चार जना कार्यालय सहयोगी कार्यरत छन् । गएको असारपछि कार्यालय प्रमुख र अन्य कर्मचारी आएका छैनन् ।

कार्यालय प्रमुख राजेन्द्रप्रसाद देव प्रायः काठमाण्डौमै बस्नुहुन्छ भने उहाँको अनुपस्थितिमा अनिवार्य रूपमा कार्यालयमा हुनुपर्ने सूचना अधिकारी इन्जिनियर सुशील चौधरी पनि गएको असारपछि आफ्नो घर जनकपुरमै बसिरहनुभएको बताइएको छ ।

यस कार्यालय अहिले तीन जना कार्यालय सहयोगीको भरमा सञ्चालन छ । महोत्तरीमा बाढी आएपछि यस कार्यालयमा कार्यरत कर्मचारीको खोजी सुरु भएको छ । गएको १० दिनमा महोत्तरीको रातो नदीमा ठूलो बाढी आएर यस कार्यालयले निर्माण गरेको तटबन्ध भत्काएर बलवा नगरपालिका ४ को तिलगढ, रौजा र वडा नं ११ अधियानपुर गाउँका एक हजार बढी घर डुबानमा परेर लाखौँको क्षति भएको छ भने सयौँ बिघा धानखेती नष्ट भएको छ ।

अख्तियारप्राप्त कर्मचारी नहुँदा सेवाग्राहीको काम गर्न समस्या भएको त्यहाँ कार्यरत कार्यालय सहयोगीको भनाइ छ । महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले कार्यालयमा कर्मचारी उपस्थित नहुनु गलत भएको बताउँदै आफूले कार्यालय निरीक्षण गर्ने र यस सम्बन्धमा कार्यालय प्रमुखसँग पनि जानकारी लिने बताउनुभयो ।


क्याटेगोरी : प्रदेश, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस