Techie IT

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत, ५६ जना जनप्रतिनिधि एमालेमै भएको दाबी


नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत चयन हुनु भएको छ ।

एमाले जिल्लाका अध्यक्ष तिर्थ बुढा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेपछि एमाले जुम्लाले अध्यक्ष पदका लागि शान्तिलाल महतसहितको नयाँ कमिटी विस्तार गरेको छ ।

नेकपा एमाले जुम्लाले गरेको कार्यकर्ता भेलामा अध्यक्ष महतसहितको १४९ जना जिल्ला कमिटी गठनका लागि प्रस्ताव गरेको छ । प्रस्तावित कमिटीको भने सोमवार हुने बैठकले अनुमोदन गर्ने नेकपा एमाले जुम्लाले जानकारी दिएको छ ।

हिजो नेकपा एकीकृत समाजवादीले आफ्नो कित्ता छुट्याएपछि एमाले जुम्लाले कार्यकर्ताको शक्ति प्रदर्शन गर्दै पछिल्लो दिन आइतवार उद्योग वाणिज्य सङ्घको हलमा भेला सम्पन्न गरेको हो । भेलामा नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, पूर्व राज्यमन्त्री बलबहादुर महतले सम्बोधन गर्नुभएको छ ।

बोगटीले एमाले विभाजन पछिको समसामयिक राजनितिक अवस्थाका विषयमा सम्बोधनसहित कार्यकर्तालाई निर्देशन गर्नुभएको छ । नेता बोगटीले एमाले अब नयाँ शिराबाट अगाडि बढ्नु पर्ने बताउनुभयो ।

पूर्व राज्यमन्त्री बलबहादुर महतले जुम्लामा एमालेका संस्थापकनै भएकाले एमाले भएकाले सबैभन्दा ठूलो पार्टी भएको दाबी गर्नुभयो ।

बहुमत जनप्रतिनिधि एमालेमै रहेको दाबी

जुम्लामा नेकपा एमालेमा बहुमत जनप्रतिनिधि भएको दाबी गरिएको छ । जिल्लाभरि पार्टी विभाजन पछि जनप्रतिनिधि र पार्टीको अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गरिएको छ ।

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले जुम्लाका ६० वडामा एमालेका ९३ जना जनप्रतिनिधि रहेकोमा ५६ जना एमालेमै रहेको दाबी गर्नुभयो । उहाँले एक अध्यक्ष, ६ वडाध्यक्ष, ४९ जना वडा सदस्य एमालेमै रहेको दाबी गर्नुभयो ।

चन्दननाथ नगरपालिका वडानम्बर ७ का सदस्य काली कामीले आफूले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरे पनि एमालेमै रहेको घोषणा गर्नुभएको छ । यद्यपि, २२ गतेसम्म सनाखत गर्ने अवधि भएकाले एमाले र नेकपा एकीकृत समाजवादीमा कति जनप्रतिनिधि कता भन्ने अन्तिम नतिजा नआएको निर्वाचन आयोग जुम्लाले जनाएको छ ।

पार्टीको अवस्थाको विषयमा चन्दननाथ नगरपालिकामा धर्मेन्द्र रोकाया, कनकासुन्दरी गाउँपालिकाको मानबहादुर रोकाया, सिञ्जाको युवराज बम, हिमामा जयबहादुर खत्री, तिलामा शान्तिनाथ योगी, तातोपानीमा सुरतबहादुर शाही, गुठिचौरमा प्रेमबहादुर बुढा र पातारासीमा हंश रोकायाले पाटी विभाजन पछिको अवस्था प्रस्तुत गरेका थिए ।


क्याटेगोरी : प्रदेश, राजनीति, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस