Techie IT

चुरे क्षेत्रमा बिरामी बोक्न झोलुङ्गोको भर


चुरे क्षेत्रका स्थानीयवासीले बिरामी बोक्न अझै झोलुङ्गोको भर पर्नुपर्ने बाध्यता छ । भौगोलिक रुपमा विकट चुरे क्षेत्रका बस्तीमा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन अझै पनि झोलुङ्गोको प्रयोग भइरहेको छ ।

दिगो सडक सञ्जालमा अझै जोडिन नसकेको र कमजोर भौगोलिक बनावटका कारण पटक–पटक बनाएको कच्ची सडकसमेत हरेक वर्षामा बग्ने गरेको छ। वर्षा लागेपछि खोलाको बाटोसमेत बन्द भएपछि उनीहरूले अझै झोलुङ्गोमा बिरामी बोकेर अस्पताल ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीले बताएका छन्।

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन र वाग्मती नगरपालिकाको चुरे भेगका बस्तीमा यस्तो समस्या छ । याे क्षेत्रमा व्यवस्थित स्वास्थ्य संस्था नहुँदा त्यहाँका नागरिक सास्ती बेहाेर्न बाध्य भएका ईश्वरपुर नगरपालिका–१२ घारीबथानका वडाध्यक्ष नागेन्द्र पाख्रिनले बताउनुभयो ।

उहाँका अनुसार याे क्षेत्र भौगोलिक विकटताका कारण पछाडि परेको र अहिले बाटो निर्माण सुरुआत भएको छ । यस क्षेत्रका बिरामीलाई अस्पताल लैजान न त बाटो छ, न गाडी नै सञ्चालन भएका छन् । बिरामीलाई अस्पतालसम्म लैजान एम्बुलेन्स त परको कुरा, बाटोसमेत नहुँदा समस्या भएको छ ।

चिकित्सकसमेत यस क्षेत्रमा जान नमान्ने गरेका पाइएको लालबन्दी नगर स्वास्थ्य शाखा सहसंयोजक सुरेन्द्र खतिवडाले जानकारी दिनुभयो । गाउँवासी मिलेर बिरामीलाई अस्पतालसम्म पुर्याउनुपर्ने बाध्यता छ । गाउँमा कोही बिरामी परे झोलुङ्गोमा पालैपालो बोकेर पूर्व–पश्चिम लोकमार्ग छेउछाउमा भएका स्वास्थ्य संस्थामा पुर्याउन आफूहरु बाध्य भएको स्थानीयवासीले बताएका छन् ।


क्याटेगोरी : प्रदेश, राष्ट्रिय, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस