Techie IT

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना लागू, कैलालीमा ड्रोन प्रयोग हुने


सुदूरपश्चिम प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ ।

दशैं, तिहार र छठ पर्वमा विभिन्न अपराधिक क्रियाकलाप तथा दुर्घटना बढ्न सक्ने भएकाले उक्त योजना लागू गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती र ठगी लगायतका अपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले बताए । प्रदेश प्रहरी र ९ वटै जिल्लाका सुरक्षा निकायले बनाएको सुरक्षा योजना लागू गरिएको उनले बताए ।

योजना अनुसार विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने, राजमार्ग क्षेत्रमा रिफ्रेस सेन्टर स्थापना गर्ने, राजमार्ग क्षेत्रमा सरप्राइज चेकिङ गर्ने र स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गरिने प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए ।

यता कैलालीलाई २ भागमा बाँडेर सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । उनका अनुसार धनगढी उपमहानगरपालिकाका ५६ स्थानमा विशेष टोली र बाँकी जिल्लाधर ११७ भागमा पनि टोली परिचालन गरेर योजना बनाइएको छ ।

सीमा नाकामा यात्रु ठगिने तथा लागुऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार हुनसक्ने भएकाले कुकुर समेत परिचालन गर्ने योजना बनाइएको उनले बताए ।

हामीले बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि पनि विशेष टोलीहरु परिचालन गर्नेछौ’ उनले भने, ‘ड्रोनमार्फत समेत जिल्लाभर निगरानी बढाउने योजना छ । उक्त सुरक्षा योजना सफल बनाउन सशस्त्र प्रहरी गण, प्रदेश प्रहरी कार्यालय र दंगा नियन्त्रण कार्यालयको समेत सहयोग लिने एसपी अधिकारीले बताए ।


क्याटेगोरी : प्रदेश, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस