Techie IT

वाग्मतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित, आजै तीन मन्त्रीलाई शपथ खुवाउने तयारी


वाग्मती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै छ । नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित छ । उहाँको शपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले हिजो नै प्रदेश प्रमुख समक्ष दाबी पेस गरिसक्नु भएको छ ।

गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दाबी गर्नु भएको हो । पाण्डेले आजै चार सदस्य मन्त्रिपरिषद् गठन गर्ने तयारी पनि गर्नुभएको छ । प्रदेश सरकारमा तत्काल नेकपा माओवादी केन्द्रका उप–नेता कुमारी मोक्तान, कांग्रेसका उप–नेता कृष्णलाल भँडेल र नेकपा एकीकृत समाजवादी दलका उप–नेता कृष्ण खनालले जिम्मेवारी पाउनु हुनेछ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे नेतृत्वमा सरकार निर्माण गर्न सहमति गरेको हो ।

प्रदेश सभामा एमालेका ४३, प्रमुख प्रतिपक्षी माओवादी २३ र कांग्रेस २२, नेकपा एकीकृत समाजवादीका १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टीका दुई, राप्रपाका दुई र जसपा का एक गरी १०९ सदस्य छन् । प्रदेश सभामा नयाँ सरकार बनाउन ५५ मत भए पुग्छ ।तिहार लगत्तै मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी छ ।


क्याटेगोरी : प्रदेश, राजनीति, समाचार


प्रतिक्रिया दिनुहोस