Techie IT

यात्रु र गाडीवालाको एउटै समस्या – खुद्रा पैसा छैन !


भक्तपुरको राधेराधेबाट गाडी चढेका शैलेन्द्र राना वीर अस्पताल अगाडि ओर्लिनुभयो । सरकारले तोकेको भाडा दरअनुसार त्यहाँसम्मको भाडा २३ रुपैयाँ हो, तर उहाँले २५ रुपैयाँ तिर्नुभयो ।

‘२ रुपैयाँ फिर्ता मागेको हो, सहचालकले छैन भन्यो’ उहाँले बढी भाडा तिर्नुपरेको बाध्यता सुनाउनुभयो, ‘कि तपाईँले चानचुन पैसा मिलाएर दिनुपर्यो हामीसँग त छैन भन्यो । मैले पनि कहाँबाट ल्याएर दिने हो र!’

अर्का यात्री प्रेम तामाङ भने बनेपादेखि आउनु भएको हो । उहाँसँग सहचालकले पहिले नै ६० रुपैयाँ लियो । उहाँलाई पनि बनेपादेखि काठमाण्डौसम्मको भाडा ५८ रुपैयाँ हो भन्ने थाहा छ । तर, उहाँले पनि पैसा फिर्ता माग्दा आफूसँग चानचुन पैसा नभएको भन्ने जवाफ दिए सहचालकले ।

‘पैसा फिर्ता त मागेको हो तर, चानचुन छैन भन्यो के गर्नु अब, आफूसँग पनि चानचुन मिलाएर दिनलाई छैन,’ उहाँले भन्नुभयो, ‘सधैँ यो २ रुपैयाँका लागि किचकिच गर्नुपर्छ । त्यही भएर अहिले त मैले माग्न नै छोडिदिएँ ।’

लक्ष्मी प्रजापति जगातीबाट काठमाण्डौ आउनु भएको हो । उहाँले भने ३० रुपैयाँ भाडा तिर्नुभयो । तर, सरकारले तोकेको भाडा भने २७ रुपैयाँ मात्र हो । उहाँले ३ रुपैयाँ बढी तिर्नुपर्यो । ‘पैसा फिर्ता मागे पनि दिने होइनन् । चानचुन छैन भन्छन् । अब कति झगडा गरिराख्नु’ उहाँको बाध्यता पनि उस्तै छ ।

काठमाण्डौ उपत्यकामा सरकारले गाडी भाडा बढाएपछि यात्रु र सह–चालकबीच दैनिक हुने घटना हो यो । काठमाण्डौ–धुलिखेल रुटका गाडी चालक राजेन्द्र लामा सरकारले बढाएको भाडा अव्यावहारिक भएकाले यात्रु र सह–चालकबीच सधैँ विवाद हुने गरेको बताउनुहुन्छ ।

‘धुलिखेलसम्मको भाडा खासमा ७८ रुपैयाँ हो । तर, हामी कहिले ८० लिन्छौं, कहिले भने ७५ रुपैयाँ पनि लिने गरेका छौं । दुई जना भयो भने १५०/१५५ लिन्छौं’ उहाँले भन्नुभयो ।

पहिले पहिले सहिदगेट, रत्नपार्क, लगनखेल जस्ता मुख्य मुख्य बिसौनीमा केही रकम कट्टी गरी चानचुन पैसा साट्ने व्यवसाय पनि राम्रै चलेको थियो । तर, अहिले भने त्यस्ता खुद्रा पैसा सटही गर्ने साना व्यापारीहरु देखिँदैनन् ।

बनेपा–धुलिखेल रुटका सहचालक कृष्ण चौलागाईँ भन्छन्, ‘हामीले पनि मन लागेर यात्रुसँग धेरै पैसा लिएका होइनौँ । बाध्यता छ । चानचुन पैसा हुँदैन अनि के गर्नु ?’

उहाँका अनुसार यदि दुई जना अथवा नियमित ओहोरदोहोर गर्ने यात्रु छन् भने छुट दिएर चानचुन पैसा दिनु नपर्ने गरी हिसाब मिलाएर लिने गरिएको छ । बनेपा–धुलिखेल रुटमा दैनिक झण्डै १ सयभन्दा बढी गाडी चल्ने गरेको त्यहाँका टाइम किपर राजु किजुले बताउनु भयो ।


क्याटेगोरी : राष्ट्रिय, विशेष, समाचार, समाज


प्रतिक्रिया दिनुहोस