Techie IT

चर्नको लागि जाने हो परदेश, आखिर फर्कनु त गुँडमा छँदैछ’


बचेराहरुको लागि चारो खोज्दै धेरै टाढाटाढासम्म पुग्छन् चरा । चारो खोजेर ‘यति भए पुग्छ’ भन्ने लागेपछि फेरि आफ्नै गुँडमा फर्किन्छन् । ठ्याक्कै चराको जस्तै यात्रा गर्ने गर्छन् वैदेशिक रोजगारीमा जानेहरु पनि ।

दुःखजेलो गरेर धन कमाउने आशामा युवाहरु परदेश लाग्छन् । त्यहाँ गएर केही कमाएपछि, अब त पुग्छ भन्ने लागेपछि आफ्नै देश फर्किन्छन्, चरा गुँडमा फर्केजसरी नै ।

ज्वालामुखी – ६ धादिङका सुवास अर्याल पनि त्यस्तै सपना बोकेर परदेश लाग्नुभएको थियो । केही समय परदेशमा बिताएपछि उहाँलाई पनि परदेशको कमाइले अब घरधन्दा चलाउन सक्छु भन्ने लाग्यो ।

अनि उहाँ घरदेश फर्किनुभयो । अहिले उहाँ आफ्नै गाउँमा उद्यम गरिरहनुभएको छ । बेकरी उद्योग चलाइरहनुभएको छ ।

नौ वर्ष पहिले सन् २०१२ मा उहाँ साउदी जानुभयो । नेपालमा होटेलमा कुकको अनुभव बटुल्नुभएका सुवासलाई साउदीमा पनि त्यही काम मिल्यो । भनेजस्तै थियो काम । कमाइ पनि चित्तबुझ्दो । तर काम गर्न थालेको तीन वर्षपछि कम्पनी बन्द हुने अवस्था आयो । त्यसपछि सुवास नेपाल फर्किनुभयो ।

सुवास साउदी जाँदा ताते ताते गर्ने छोरी फर्किँदा चार वर्षकी भइसकेकी थिई । छोरीको माया, लामो समयदेखिको परिवारसँगको विछोड । सुवासले अब परदेश नजाने सोच्नुभयो ।

तर आफूसँग समय पनि छ र नेपालमा भन्दा अहिले विदेशमै कमाउन सकिन्छ भन्ने लाग्यो । केही वर्षको लागि मात्रै भएपनि अन्तिम पटक परदेश जान्छु भनेर उहाँ फेरि दुबई हानिनुभयो ।

हातमा सीप भएपछि काम पाउन गाह्रो हुँदैन । सुवासले नेपालको अनुभवको आधारमा साउदीमा पनि होटलमै काम पाउनुभएको थियो । त्यहीँ उहाँलाई बेकरी सिक्ने मौका मिल्यो ।

दुबईमा पनि बेकरीकै काममा जानुभयो । फेरि त्यही काम गर्न पाउँदा सुवास बेकरीमा झन् निखारिनुभयो । छोटो समयमा उहाँ बेकरी सेफ बन्नुभयो ।

दुबई आउने बेला नै दुई वर्ष भन्दा बढी नबस्ने भनेर आउनुभएको थियो सुवास । त्यसै गर्नुभयो । त्यसपछि महिनाको लाखौँको कमाइ छाडेर देशमै केही गर्ने सोच लिएर नेपाल फर्किनुभयो ।

‘कमाइ एक लाख रुपैयाँ जति थियो, तर कमाइ राम्रो छ भन्दैमा कतिञ्जेल उतै बस्ने ?’, सुवास भन्नुहुन्छ, ‘चर्न जहाँ गए पनि आखिर फर्किनु त गुँडमै पर्छ नि ।’

वैदेशिक रोजगारीको क्रममा पहिलोपटक साउदी गएपछि सुवास त्यहाँ सामान्य कुकबाट बेकरीमा छिर्नुभयो । बेकरी सेफ बन्नुभयो । त्यही अनुभव लिएर दुबई जानुभयो । त्यहाँ झन् बढी सिक्ने मौका पाउनुभयो ।

आफूले सिक्ने चाहना राखेमा विदेशमा नयाँ नयाँ सीप सिक्ने मौका मिल्छ । आफ्नो हातमा सीप भएपछि भोकै मरिँदैन । सुवासले पनि नेपाल फर्केर यही कामलाई व्यवसाय बनाउनुपर्छ भनेर बेकरीको काम मन लगाएर गर्नुभयो ।

आफूसँग भएको सीपलाई आफ्नै गाउँठाउँमा लगाउने सोचेर उहाँले आफ्नै देशमा पसिना बगाउने अठोट गर्नुभयो । परदेशमा पैसा भए पनि, जीन्दगी सहज भए पनि त्यहाँ परिवारको साथ माया पाइँदैन । आफ्नो अमूल्य पसिनालाई आफ्नै देशको माटोमा बगाउने अवसर मिल्दैन ।

त्यही अवसरको खोजी गर्दै सन् २०१८ मा सुवास घर फर्किनुभयो । र त्यसको डेढ वर्षपछि २०२० मा सुरु गर्नुभयो बेकरी उद्योग । धादिङ्कै ज्वालामुखी ६ मा जलकन्या बेकरी उद्योग सञ्चालन गर्नुभएको छ ।

पन्ध्र लाख रुपैयाँ लगानीमा थाल्नुभएको बेकरी उद्योगमा दुईजना कामदार राख्नुभएको छ । परिवारका अरु सदस्यहरुले पनि काममा सघाउँछन् । परदेशमा यही काम अरुको लागि गर्दा र अहिले आफैले यसलाई व्यवसाय बनाउँदा धेरै फरक पाएको सुवास बताउनुहुन्छ ।

‘पहिले यही काम साहुको लागि गरिन्थ्यो, आफ्नो मिहिनेतको केही अंश मात्र तलबको रुपमा हामीले पाउँथ्यौ’, उहाँले गर्वकासाथ भन्नुभयो, ‘अहिले त्यही काम आफ्नै लागि गरिन्छ, जति नाफा घाटा सबै आफ्नै हुन्छ, कहीँ ठगिएँ भन्ने नै हुँदैन ।’

वैदेशिक रोजगारी आफैमा नराम्रो होइन । नेपालको अर्थतन्त्रको ठूलो हिस्सा यसैले धानेको छ । तर वैदेशिक रोजगारी सधैँको विकल्प पनि होइन ।

त्यसैले आफ्नो तर्फबाट सानै भए पनि उद्यमको सुरुवात गर्नुपर्छ । विदेशबाट कमाएको पैसा, सिकेको सीप नेपालमै खर्चे यहीँ रोजगारी सिर्जना हुन्छ । सुवासलाई पनि यस्तै लाग्छ ।

विदेशमा सिकेको कामलाई आफ्नै देशमा लगाउन सके आफू व्यवसायी पनि भइन्छ, अरुलाई रोजगारी पनि दिन सकिन्छ’, उहाँ भन्नुहुन्छ, ‘विदेशका बढी कमाइ छ भन्दैमा सधैँ उतै बसिराख्नु ठीक होइन, विदेशमा कमाइ हुनेभन्दा आधामात्रै कमाइ भए पनि आफ्नै गाउँठाउँमा काम गर्नु राम्रो ।’


क्याटेगोरी : प्रदेश, रोजगार, विशेष, समाचार


प्रतिक्रिया दिनुहोस